३० आश्विन २०८३, शुक्रबार

चेक गणतन्त्रले नेपालमा लगानी दोब्बर बनाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Czech Republic Minister Delivers Remarksकाठमाडौँ, १५ माघ । लगानी र आर्थिक सहयोगलाई वृद्धि गर्ने सम्झौता नेपाल र चेक गणतन्त्रबीच भएको छ ।

युरोपेली मुलुक चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेकको सहभागितामा दुई मुलुकबीच पहिलोपटक भएको लगानी तथा आर्थिक सहयोग बढाउने सम्झौता भएको हो ।

सम्झौताले औद्योगिक विकास, लगानी विस्तार र निजी क्षेत्रसँगको साझेदारी एवम् सहयोग बढ्ने अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयमा भएको सम्झौतामा चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेक र अर्थमन्त्री डा रामशरण महतले हस्ताक्षर गर्नुभयो ।

आर्थिक विकाससम्बन्धी सूचना आदानप्रदान, दुवै देशका लगानीकर्ता कम्पनी एवम् औद्योगिक प्रतिष्ठानबीच सहयोग तथा साझेदारी विस्तार, साझा चासोका परियोजना निर्माणमा प्रोत्साहन, दुवै देशका उत्पादन प्रवद्र्धनका लागि व्यापार मेला आयोजना तथा अन्य प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्नु सम्झौताको मुख्य उद्देश्य रहेको मन्त्री महतले बताउनुभयो ।

उक्त सम्झौता कार्यान्वयन गर्न सचिवस्तरीय संयुक्त समिति गठन गरिने बताउँदै उहाँले उक्त समितिको सहअध्यक्षता दुवै देशका अर्थसचिवले गर्ने जानकारी पनि दिनुभयो । विविधतायुक्त देश नेपालमा लगानीको पूर्ण प्रतिफल प्राप्त हुने र त्यो सहजरुपमा लगानीकर्ताले फिर्ता लैजाने सरल कानुनी व्यवस्था गरिएको मन्त्री महतले बताउनुभयो ।

चेक गणतन्त्रसँग निर्यात व्यापार बढाउने नेपालको चाहना दोहोर्याउँदै उहाँले नेपालप्रति उक्त मुलुकले देखाएको अभिरुचि एवम् सहयोगी भावनाको सराहना गर्नुभयो । उहाँले भन्नुभयो – अपार सम्भावनायुक्त शान्त मुलुक नेपालमा ढुक्क भएर लगानी गर्नुहोस् ।

द्विपक्षीय सम्झौताले पारस्परिक सहयोग अभिवृद्धिको प्रारम्भिक चरण सुरुवात भएकोले विकास र साझेदारीका धेरै क्षेत्र पहिल्याउने अर्थमन्त्री महतको विश्वास छ ।

सो अवसरमा मन्त्री मलाडेकले विकट स्थानमा पनि विमानस्थल निर्माण, जलविद्युत् गृह निर्माण, सौर्य, वायु कोइलाबाट ऊर्जा उत्पादन, खानेपानी तथा फोहरमैला व्यवस्थापन, खाद्य प्रशोधन, विमान उत्पादन, कृषि उपकरण उत्पादनमा आफ्नो मुलुकको अनुभवी रहेको जानकारी दिँदै ती क्षेत्रमा नेपालसँग मिलेर काम गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल र चेक गणतन्त्रबीच सहयोग अभिवृद्धिको प्रचुर संभावना रहेको बताउँदै मन्त्री महतले द्रुत विकास गरेको उक्त मुलुकलाई नेपालको तुलनात्मक लाभका क्षेत्रमा लागनी गर्न आह्वान गर्नुभयो ।

साथै, उहाँले नेपालको पर्यटन तथा कृषि क्षेत्र, कृषिजन्य वस्तु तथा खाद्य प्रशोधनका क्षेत्र पनि चेक लगानीका निम्ति इच्छुक रहेको जानकारी दिनुभयो ।