काठमाडौँ, १४ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अगाडि बढाएको प्रक्रिया कुनै पनि शर्तमा नरोकिने बताउनुभएको छ ।
डल्लुस्थित आफ्नै निवासमा रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै एमाले वरिष्ठ नेता खनालले संविधानसभाका अध्यक्ष नेम्वाङले अगाडि बढाएको प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “आम जनता संविधान ल्याउनेको पक्षमा रहेका छन्, संविधानसभाले चालेको निर्णय सही छ, कुनै पनि हालतमा यो फिर्ता हुँदैन ।”
यद्यपि संविधान लेखनका विषयमा देखिएका विवादलाई सहमतिबाटै समाधान गर्न सकिने खनालको धारणा छ । विपक्षीहरु चालू प्रक्रियामा आउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “विपक्षीहरु यही निर्णयमा आउनुपर्छ, यदि उहाँहरु आउनु भएन भने, उहाँहरुको राजनीतिक औचित्यमाथि नै जनताले प्रश्न उठाउने छन् ।”
उहाँले विपक्षीहरुले गर्ने भनेको आन्दोलनको कुनै औचित्य नभएको उल्लेख गर्नुभयो । “कुनै राजनीतिक दलले चाहँदैमा आन्दोलन हुँदैन । यस्तो आन्दोलनमा जनताको साथ सहयोग पनि रहँदैन ।” खनालले भन्नुभयो ।
उहाँले संविधान नबन्दासम्म सरकार परिवर्तनको कुनै कुरा नै नहुने स्पष्ट पार्दै भन्नुभयो, “एमालेले सरकारका विषयमा सोचेको छैन, अहिले हामीले सत्ता देखेका पनि छैनौँ, संविधान मात्र देखेका छौँ ।”
नेता खनालले संविधान लेखनमा देखिएको विदेशी चासोको पनि विरोध गर्नुभयो । नेपालीहरुको आत्मनिर्णयको अधिकारलाई अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप नगर्न पनि आग्रह गर्नुभयो ।
















प्रतिक्रिया