महेन्द्रनगर, माघ १४ । बाघको शिकार गर्न घरमा बन्दुकहरुमा गोली मिलाउदै थिए । बाघका महत्वपूर्ण अंगहरु हाल्नका लागि बोराहरु तयार गरिएका थिए ।
तर प्रहरीले सुराकी गरेर थाहा पाएपछि सबै योजना चौपट भएको छ, कञ्चनपुरका एक वृद्धको । कञ्चनपुरको दक्षिणी क्षेत्र पूर्नबास नगरपालिकामा बस्दै आएका ६५ वर्षिय टेक बहादुर विकलाई प्रहरीले रंगे हात पक्राउ गरेको हो ।
सूदूरपश्चिम प्रहरीको क्षेत्रिय अनुसन्धान टिम महाकालीले मंगलबार राती पूर्नबास नगरपालिका–६ नयाँगाउँबाट विकलाई ३ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
क्षेत्रिय अनुसन्धान टिम महाकालीका प्रमुख प्रहरी नायब निरीक्षक बिरेन्द्र जोहारीले विशेष सूचनाका आधारमा विकलाई घरबाटै पक्राउ गरिएको जानकारी दिनुभयो । ‘आरक्ष क्षेत्रभित्रका वन्यजन्तु मारेर महत्वपूर्ण अंगहरु बेच्ने योजना बनाइएको पाइएको छ,’ उहाँले भन्नुभयो, ‘थप अनुसन्धान जारी छ, घटनामा अरु व्यक्तीहरु पनि छन् ।’
विकको साथबाट तिन थान घरेलु भरुवा बन्दुक बरामद गरिएको छ । वन्यजन्तु चितलको जस्तो देखिने २ थान सिङ, बन्दुकको ८ थान गोली, १ सय थान छर्रा र २ सय ग्राम गोली बनाउने सिसा समेत बरामद गरिएको प्रहरी नायब निरीक्षक जोहारीले जानकारी दिनुभयो ।
विकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ विरुद्दको अपराध तथा हात हतियार तथा खर–खजाना ऐन अन्तर्गत कारवाही हुने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।















प्रतिक्रिया