महेन्द्रनगर, १३ माघ । महेन्द्रनगरमा जारी ‘प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिता’ अन्तरगत मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा मर्निङ ग्लोरीलाई पराजित गर्दै महेन्द्रनगर उमाविले अन्तिम चारमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।
महेन्द्रनगर उमाविसंगै आदर्श उमावि, जनज्योती र आयोजक लिटिल बुद्ध एकेडेमीबीच बुधबार सेमी फाइनल खेल हुने भएका छन् । फाइनल प्रवेशका लागि महेन्द्रनगरले आदर्श र जनज्यातीले लिटिल बुद्धको सामना गर्नेछ ।
स्थानिय कभर्ड हल मैदानमा दिउँसो सम्पन्न रोमाञ्चक खेलमा टस जितेर पहिलो फिल्डिङ रोजेका मर्निङ ग्लोरीले १४ रनले पराजय भोग्नु पर्यो । महेन्द्रनगर उमाविले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउने क्रममा मर्निङ ग्लोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय आठ रन मात्र जोड्न सक्यो ।
पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले प्रेम बाँनियाको सर्वाधिक २० रनको योगदानले नौ विकेटको क्षतीमा एक सय २१ रनको योगफल तयार गरेको थियो । उसका लागि रोहित चन्दले १९ र दिपक कार्कीले १७ रनको पाली खेलका थिए ।
मर्निङ ग्लोरीका रोहित भट्टले तीन ओभरमा २० रन खर्चेर तीन विकेट लिए । त्यस्तै हेमन्त वैजले चार ओभरमा १९ रन दिएर दुई विकेट हात पारे । यसै गरी कमल क्षेत्री, हिक्मत जोराले एक÷एक विकेट बाँडेका थिए ।
जवाफि ब्याटिङमा चाँडै तीन विकेट गुमाएको मर्निङ ग्लोरीको पाली रोहित भट्ट र कमल क्षेत्रीको जोडिले समाल्ने प्रयास गरे पनि हार टार्न सकेनन् । रोहितले २५ र कमलले २१ रनको महत्वपूर्ण योगदान दिए । महेन्द्रनगरका पंकज पन्तको बलिङ चम्केपछि नरेश बिष्ट बाहेकका खेलाडीले मर्निङग्लोरीका लागि दोहोरो अंक जोडन सकेनन् । नरेशले १५ रनको आक्रामक पाली खेलेका थिए ।
खेलका ‘म्यान आफ दि म्याच’ पंकजले चार ओभरमा २१ रन खर्चेर चार विकेट लिए । त्यस्तै कृष्ण तिवारी र रोहित चन्दले एक/एक विकेट हात पारे ।
माघ १५ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेता टीमलाई ५१ हजार रउप विजेता टीमलाई २५ हजार रुपैयाँ पुरस्कार राखिएको संयोजक महेन्द्र बहादुर चन्दले बताए ।













प्रतिक्रिया