२ कार्तिक २०८३, सोमबार

३३ वटा झोले जलविद्युत् आयोजना खारेज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidut-progetचौतारा, १३ माघ । झोलामा खोला ओगट्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लामा ३३ स्थानमा जलविद्युत् उत्पादनका लागि परेका निवेदनहरु रद्द गरिएका छन् ।

जिल्लाका विभिन्न नदीनालाबाट १०० देखि एक हजार किलोवाटसम्म विद्युत् उत्पादनका लागि परेका निवेदन प्रक्रिया नपुगेपछि विद्युत् विकास विभागले हालै खारेज गरेको हो ।

यसरी खारेजीमा परेका देशभरका कुल १७८ आयोजना रहेका छन् । जिल्लामा खारेजीमा परेका योजनाहरुमा जलविद्युत्को विषयमा सामान्य अनुभवसमेत नभएका र लगानी जुटाउनसमेत हम्मे पर्नेखालका देखिएका छन् ।

विगतका वर्षमा जिल्लाका विभिन्न नदीनाला ओगटेर बस्नेको सङ्ख्या ठूलै रहेको छ । विद्युत् उत्पादन गर्ने उद्देश्यभन्दा पनि पहुँचवाला र उनीहरुको अफन्तले लाइसेन्स लिई ओगटेर बसेका प्रशस्त उदाहरण छन् ।

कतिपयले रु ६० लाखदेखि रु एक करोडसम्ममा अन्यलाई बिक्री गरेको समेत पाइएको छ । पूजा चन्दको नाममा रहेको एक मेगावाटको हाँडीखोला र अमृत खड्काको नाममा रहेको २।५ मेगावाटको लिपिङखोला आयोजना अन्यलाई बिक्री गरेका थिए ।

करिब डेढ दशकअघि अनुमति प्राप्त २० मेगावाटको तल्लो वलेफी आयोजना लामो समयसम्म लगानी जुटाउन नसकी ओगटेरमात्र राखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही समय अघि खारेजी गरेको थियो ।

जिल्लाको भोटेकोसी, सुनकोसी, वलेफी र इन्द्रावती करिडोरबाट एक हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने सर्वेक्षणले देखाएको छ । सोमध्ये हाल जिल्लाबाट ६८ मेगावाट विद्युत् उत्पादन भएको छ भने २२।२ मेगावाटको तल्लो चाकुखोला ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै, सानाठूला गरी करिब आधा दर्जन आयोजना पनि निर्माणको चरणमा रहेको बताइएको छ ।