काठमाडौँ, १२ माघ । राजनीतिक गतिरोध लम्बिँदै जाँदा राष्ट्रपति डा रामवरण यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
सोमबार शीतलनिवास पुग्नुभएका एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति डा यादवले संविधान निर्माण प्रक्रियामा एमाओवादीलगायतका विपक्षी दलहरुलाई सँगै लिएर जान आग्रह गर्नुभएको हो । संविधानसभामा फरक मत राख्ने विपक्षी दलहरुलाई सकेसम्म समेटेर संविधान निर्माण कार्य अघि बढाउनुपर्ने राष्ट्रपतिको भनाइ थियो ।
भेटवार्ताबारे संचारकर्मीलाई जानकारी दिँदै एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भन्नुभयो, ‘राष्ट्रपतिले संविधान निर्माणको दिशामा अघि बढ्नुस्, संविधानसभामा फरक मत राख्ने विपक्षी दलहरुलाई समेटेर लैजाने प्रयास गर्नुस् भन्नुभयो ।’
जबाफमा एमाले अध्यक्ष ओलीले एमाओवादीको संविधान निर्माणप्रति नियतमा शंका रहेको बबताउनु भएको थियो । यद्यपि एमाओवादीलगायतका दललाई सहमतिमा ल्याउने प्रयास गरिने ओलीको भनाइ यिथो ।
राष्ट्रपतिलाई भेट्न अध्यक्ष ओलीसहित उपाध्यक्ष भण्डारी र महासचिव ईश्वर पोखरेल शीतलनिवास पुग्नुभएको थियो ।
















प्रतिक्रिया