काठमाडौं, १२ माघ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले बहुमतीय प्रक्रियाबाट संविधान निर्माण अगाडि बढाएपछि सत्तारुढ र विपक्षी दलहरु आ आफ्नै रणनीति बनाउन व्यस्त बनेका छन् ।
सत्ता पक्षले वार्ता र संविधान निर्माण प्रक्रियालाई सँगसँगै अगाडि बढाउने भएको छ । काँग्रेस र एमालेको आइतबार राति बसेको बैठकले प्रधानमन्त्री सुशील कोइरालालाई विपक्षीसँगको वार्ताको जिम्मेवारी तोकेको थियो । प्रधानमन्त्रीले आजदेखि विपक्षी मोर्चासँग वार्ताको प्रयास थाल्ने भएका छन् ।
विपक्षी मोर्चाले आइतबारको प्रक्रियासँगै वार्ता नगर्ने घोषणा गरेपछि सरकारका तर्फबाट वार्ताको प्रयास गर्ने तयारी भएको छ ।
यसका साथै आज अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक फेरि बस्नेछ । बैठकमा अबको रणनीति र विपक्षीलाई विश्वासमा ल्याउने उपायका विषयमा छलफल हुनेछ ।
यता, संविधानसभा अध्यक्ष नेम्वाङ्गले प्रश्नावली प्रस्ताव समिति गठन गरेपछि आक्रोशित विपक्षी गठबन्धन भावी रणनीति तयार बिहानैदेखि व्यस्त छ । बिहानै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहितका नेताहरु सभामुखको कदम र भावी रणनीति तय गर्न आन्तरिक छलफलमा जुटेका हुन ।
विपक्षी मोर्चाले दुई बजे बैठक बोलाएको छ । बैठकले जनजागरण, कोणसभा, राष्ट्रिय परिचालन, आमसभा, मसाल जुलुस र क्रमस नेपाल बन्दसम्मको आन्दोलनको कार्यक्रम घोषणा गर्ने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चेतावनी दिए ।
















प्रतिक्रिया