काठमाडौँ, १० माघ । एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय गठबन्धनले सहमतिको आधारमा संविधान निर्माण प्रक्रियालाई पुनः अगाडि बढाउन आग्रह गरेको छ ।
विगतमा दलहरुबीच भएको १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षसँग भएका सहमति तथा सम्झौताको एकीकृत रुपमा नयाँ संविधान हुने भएकाले अल्पमत तथा बहुमतको खेलले कोही कसैको पनि हित नगर्ने भन्दै सबैलाई मान्य हुने संविधान लेखन प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।
एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको गठबन्धनको बैठकले सहमतीय प्रक्रियाभन्दा बाहिर गएर जबर्जस्ती बहुमतका आधारमा संविधान लेखन प्रक्रिया अगाडि बढाइए त्यसको जिम्मेवार नेपाली काँग्रेस र नेकपा(एमाले) नै हुने जनाएको छ ।
संविधानसभाको बैठक केही दिन पर सारेर सहमतिको नेतृत्व गर्न गठबन्धनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आग्रह समेत गरेको छ । प्रश्नावली समिति बनाउने विषय नै गलत भएको भन्दै गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले संविधानसभाका अध्यक्षको गरिमा र मर्यादालाई कायम राख्न समेत आग्रह गर्नुभएको छ । उहाँले संविधानप्रदत्त हक र अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरिएको बताउनुभयो ।
बैठकपछि गठबन्धनका संयोजक पुष्पकमल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘‘काँग्रेसको प्रस्ताव र एमालेको समर्थनमा प्रश्नावली समितिको गठन गर्ने प्रस्ताव हाम्रो कडा प्रतिरोधले तुहिएपछि पुनः सभाध्यक्ष आफैँले काँगे्रस–एमालेको प्रस्ताव बोकी माघ ११ गतेको बैठकमा समिति गठन गर्ने प्रस्ताव लान खोज्नु अत्यन्त आपत्तिजनक छ र त्यसबेला सभाध्यक्षको तटस्थता र गरिमा समाप्त हुने कुरा निश्चित छ ।’’ गठबन्धनले समय छँदै विवेक र दृष्टि पु¥याएर सहमतिको बाटोमा फर्कन सत्तारुढ दललाई आग्रह समेत गरेको छ ।
। रासस
















प्रतिक्रिया