२९ आश्विन २०८३, बिहिबार

प्रथम एलबीए टि–२० कप क्रिकेट: भुवनेश्वरी र ग्वालेक विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket

महेन्द्रनगर, १० माघ । महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा जारी ‘प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट’ प्रतियोगिता अन्तरगत शनिबार भएका खेलमा भुवनेश्वरी उमावि र ग्वालेक स्कुल विजयी भएका छन् ।

भुवनेश्वरीले कञ्चन विद्या मन्दिरलाई चार विकेट र ग्वालेकले होली फ्याम्ली स्कुललाई ३६ रनले पराजित गरेका हुन् ।

दिउँसो भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कञ्चनले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र जोड्न सक्यो । उसका लागि सुरज अवस्थीले १४ बलमा १२ रन र अम्बादत्त जोशीले २१ बलको सामना गर्दै नौ रन बनाए । कञ्चनका पाँच खेलाडी रन आउट भएका थिए ।

भुवनेश्वरीका प्रकाश सिंहले कसिलो बलिङ गर्दै चार ओभरमा दुई मेडन राख्दै १२ रन दिएर दुई विकेट लिए । त्यस्तै सन्तोष देउवाले चार ओभरमा १९ रन खर्चेर दुई विकेट हात पारे ।

९१ रनको लक्ष्य पछ्याएको भुवनेश्वरीले चार बल बाँकी रहँदा छ विकेट गुमाएर जित हात पार्यो । उसका लागि खेलका म्यान अफ दि म्याच प्रकाश सिंहले १५ रनको पाली खेले । त्यस्तै राजेन्द्र रोकायाले अविजित १३ रनको योगदान गरे ।

कञ्चनका लागि किशन चौहानले चार ओभरमा १४ रन दिएर दुई विकेट र वाशु देव भट्टले चार ओभरमा नौ रन खर्चेर एक विकेट हात पारे ।

यसअघि बिहान भएको खेलमा ग्वालेकले र होली फ्याम्लीबिरुद्ध टस जितेर पहिले ब्याटिङको निर्णय गर्यो । ग्वालेकले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३७ रन बनाएको थियो । ग्वालेकका लागि रवि चन्दले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै विकास बमले २५ र प्रकाश नाथले २० रन बनाएका थिए ।

होली फ्याम्लीका अशोक भण्डारीले चार ओभरमा १९ रन दिएर दुई विकेट र दिपक जोशीले एक ओभरमा तीन रन खर्चेर दुई विकेट हात पारे ।

जवाफी ब्याटिङमा होली फ्याम्लीका विनोद भट्टले २८ र नविन भट्टले १४ रनको पाली खेले पनि हार टार्न सकेन् । ग्वालेकका तर्फबाट खेलका म्यान अफ दि म्याच विकास बमले चार ओभरमा १७ रन दिएर तीन विकेट लिए । त्यस्तै प्रकाश नाथ र रमेश कलौनीले समान दुई विकेट हात परेका थिए ।

आइतबार बिहान हुने दिनको एकमात्र खेलमा महेन्द्रनगर उमावि र वैजनाथ नमूना उमाविबीच हुनेछ । लिग कम नक आउटका आधारमा संचालित प्रतियोगितामा १२ टिमको सहभागि छन् । प्रतियोगिताका संयोजक महेन्द्र बहादुर चन्दका अनुसार विजेता टिमलाई ५१ हजार र उपविजेता टीमलाई २५ हजार रुपैया नगद पुरस्कार राखिएकोे छ ।