८ कार्तिक २०८३, आइतबार

संविधान निर्माण गरी सहिदको सपना पूरा गर्नुपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saheedकाठमाडौँ, १० माघ । प्रजातन्त्रका लागि जीवनको आहुति दिने ज्ञात–अज्ञात सहिदहरुको सम्झनामा साताव्यापी सहिद दिवस आजबाट मनाउन सुरु गरिएको छ ।

सप्ताहको प्रथम दिन आज पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले ललितपुरस्थित पुल्चोकमा रहेको सहिद शुक्रराज जोशी ‘शास्त्री’को शालिकमा माल्यार्पण गर्नुभयो ।

सहिद स्मारक समिति केन्द्रीय कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको माल्यार्पण कार्यक्रममा पूर्वप्रधानमन्त्री विष्टले साचो अर्थमा सहिदका सपना पूरा गर्नका लागि राजनीतिक दलले सहमतिका आधारमा जनताको चाहनाअनुरुप जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्ने धारणा राख्नुभयो ।

इतिहासविद् प्रा डा श्रीराम उपाध्यायले दलका नेताहरुले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर संविधान निर्माण गरी मुलुकलाई आर्थिक सामाजिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षतालगायत प्राप्त उपलब्धिलाई संस्थागत गर्दै युगौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरी निर्धारित समयमा संविधान जारी गरिनुपर्छ भन्नुभयो ।

सहिद सप्ताहका अवसरमा स्मारक समितिले १६ गतेसम्म सहिदसम्बन्धी प्रवचन, भक्ति सङ्गीत, श्रद्धाञ्जलि र रक्तदानलगायतका कार्यक्रम गर्ने बताइएको छ ।

ललितपुर निवासी माधवराज जोशी र श्रीमती रत्नमाया जोशीका छोरा शुक्रराज शास्त्री विसं १९५० भदौ १३ गते भारतको बनारसमा जन्मनुभएको हो ।

तत्कालीन ‘नागरिक अधिकार समिति’ द्वारा काठमाडौँको इन्द्रचोकमा आयोजित प्रथम आमसभामा जनाधिकारको माग गरी नेपाली भाषा संस्कृति, धर्म र राष्ट्रियताको संरक्षणका निम्ति आवाज बुलन्द गरी राणा शासनको घोर विरोध गर्नुभएको थियो ।

सोही अभियोगमा छ वर्ष कैद तोकिएको र पछि विसं १९९७ मा बन्दी अवस्थामै ‘देशद्रोही’ को आरोप लगाई माघ १० गते काठमाडौँ, टेकुको रुखमा झुन्ड्याई हत्या गरिएको शिलालेखमा उल्लेख गरिएको छ ।