काठमाडौं, ८ माघ । एमाओवादीको पछिल्ला गतिविधिका विषयमा प्रकाशित समाचारको विषयमा लिएर एमाओवादीका एक नेताले नेपाल समाचार दैनिकका सम्पादक टंक पन्तलाई धम्की दिएका छन् ।
पूर्व सञ्चारमन्त्री समेत भइसकेका एकीकृत माओवादीका नेता अग्नी सापकोटाले संविधानसभा भवनमा बिहीबार पत्रकार पन्तलाई धम्क्याएका हुन् । तपाईंले लेखेको समाचार हेरियो, यसको उचित समयमा हिसाबकिताब गरुँला भन्दै सापकोटाले धम्क्याएको सम्पादक पन्तले दैनिक नेपाल डटकमलाई जानकारी दिनुभयो । सोमबार मध्यरातमा संसदमा एमाओवादीको नेतृत्वमा भएको वितण्डा र मंगलबारको नेपाल बन्दका विषयमा प्रकाशित समाचारको विषयलाई लिएर सापकोटाले धम्काएको बताइएको छ ।
सम्पादक पन्तले भने तत्कालै त्यसको प्रतिवाद गर्नुभएको थियो । ‘कमरेडहरुले युद्धकालदेखि नै पत्रकारहरुको, समाचारको हिसाबकिताब गर्दै आएका हुन् । सिन्धुपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्कादेखि दैलेखका पत्रकार डेकेन्द्र थापासम्मको हिसाब पनि भएकै हो । अब कस्तो हिसाब होला त कमरेड ?’ प्रतिवाद गर्दै सम्पादक पन्तले भन्नुभएको थियो ।
सम्पादक पन्त नेपाल समाचारपत्र दैनिकका सम्पादकका साथै नेपाल टेलिभिजन संचालक समितिका सदस्य पनि हुनुहुन्छ ।
















प्रतिक्रिया