२ कार्तिक २०८३, सोमबार

एमाओवादी लोकतान्त्रिक भएपछि मात्रै वार्ताः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal

काठमाडौ, ८ माघ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी लोकतान्त्रिक भएपछि मात्रै संबाद हुन सक्ने स्पष्ट पार्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उहाँले भन्नुभयो –‘एमाओवादीमा प्रधानमन्त्री, मन्त्री भएर सरकार चलाएपनि अझै लोकतान्त्रिक संस्कार आउन नसकी युद्धको धङ्गधङ्गी कायम रहेको छ । त्यो छाडेर लोकतान्त्रिक संस्कारमा नआएसम्म संबाद तथा वार्ता हुनै सक्दैन । गरेपनि त्यसबाट मुलुकले निकास पाउन सक्दनैन । त्यो सम्वादको कुनै अर्थ हुँदैन ।’

साक्षात्कारमा नेपालले एमाओवादीसँग लोकतान्त्रिक चरित्र प्रस्तुत गर्दै आफ्ना असहमतिका विषयहरु दर्ज गराएर संविधान निर्माणको कार्यलाई अघि बढाउनुको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो ।

उहाँले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गसँग सहमति भए विषयहरु प्रष्ट पार्दै असहमतिका विषयहरु राखेर संघीयताको लागि सहमति जुटाउन निश्चित समय दिएर अघि बढ्नुको विकल्प नभएको बताउँदै आजको संविधानसभाले प्रश्नावली समिति अघि बढाएर संविधान निर्माणको प्रक्रिया सुरु गर्ने ठोकुवा गर्नुभयो । नेपालले भन्नुभयो– हामी संविधानसभालाई अनिर्णयको बन्दी बनाइरहन दिँदैनौँ । आज प्रश्नावली समिति बन्छ र त्यसमा एमाओवादीले संख्या र प्रतिशतको आधारमा प्रतिनिधित्व पाउँछ, आज एउटा ठोस निश्कर्षमा हामी पुग्नै पर्छ, जनतालाई केही सकारात्मक सन्देश प्रवाह गर्नेपर्छ ।’

उहाँले प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार असक्षम भएपनि संविधान नबनेसम्म यही सरकार कायम रहने स्पष्ट पार्दै काग्रेस र एमाले मिलेर अघि बढ्ने स्पष्ट पार्नुभयो । नेता नेपालले भन्नुभयो– सरकार असफल छ तर हाम्रो ध्यान यतिवेला सरकार नभई संविधान निर्माण भएकोले संविधान निर्माण नहुन्जेलसम्म सरकार परिवर्तन हुँदैन । सरकार असक्षम, नालायक र भ्रष्ट छ तरपनि अहिले हाम्रो एजेण्डामा सरकार परिवर्तन छैन ।’

संविधानसभालाई अनिर्णयको बन्दी बनाउने संबाद समितिका सभापति डा. बाबुराम भट्टराई भएको उल्लेख गर्दै संविधानसभामा भएको आक्रमणको लागि उकास्ने पनि उनै भएको आरोप नेपालले लगाउनुभयो । नेपालले भन्नुभयो– भट्टराईले आक्रमणको लागि उकासेका हुन । यो योजनाबद्ध आक्रमण हो र निन्दनीय छ । आन्दोलन त्यागेर प्रश्नावली समिति गठन गर्न तयार भए अहिले पनि प्रश्नावली निर्माण गर्दै जाने र सहमतिको प्रयास पनि सँगसँगै लिएर जाँदै गर्ने सम्भावना छ ।

भट्टराईले सहमति जुटाउने समितिको सभापति भन्दा पनि पार्टीको कार्यकर्ताको रुपमा काम गरेकोले संविधान बन्न नसकेको भन्दै असफल भइसकेका सभापति भट्टराईले पद त्याग्नु पर्ने नेता नेपालले माग गर्नुभयो ।

एमाओवादीले अहिले पनि बन्दुकको तागत देखाइरहे पनि एमाले र काँग्रेस पनि जनआन्दोलनबाट आएको जनताको शक्ति भएको भन्दै जनताको शक्तिहरुले जनताको भावना अनुसार अघि बढ्नुपर्ने र वितण्डा मच्याउनेहरुलाई सोझो बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।

माघ ८ गते संविधान बनाउन नसकेको कारण प्रष्ट भएको भन्दै एमाओवादीको समयसीमा मिच्ने प्रबृत्ति हाबी भएको कारण सहमतिको प्रक्रिया लम्बिएको समेत स्पष्ट पार्नुभयो ।

शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा सहमति भइसकेको अवस्थामा प्रदेशको नाम र सिमालाई मधेसवादी र एमाओवादीले चाहेको भए टुङ्गयाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै उहाँले संविधानसभाको पहिलो बैठकबाटै एमाओवादी संविधान नल्याउने खेलमा लागेकोले सहमति हुन नसकेको ठोकुवा गर्नुभयो ।

सरकार बनाउँदा काँग्रेस र एमालेले गल्ती गरेकोले अहिलेको समस्या उत्पन्न भएको भन्दै सरकार बनाउँदा मधेसवादीदलहरुलाई स्पेस दिएको भए अहिले संविधान जारी गर्न सहज हुने थियो भन्दै गुनासो गर्नुभयो ।