पथरी, ७ माघ । के सहर के गाउँ मुसाको उपद्रोबाट आजित नहुने सायदै होलान् । मुसा नियन्त्रण गर्ने विभिन्न तरिका अपनाउने गरिन्छ । तर तराईका केही जातिविशेषमा भने यसको मासु नै खाने गर्दछन् ।
मुसालाई आहार बनाउनकै लागि उनीहरु घन्टौँसम्म मिहेनत गर्छन् । परम्पराकै रुपमा उनीहरुले मुसाको सिकार गर्दछन् । सीमान्तकृत तथा अतिविपन्न समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसाको सिकार गर्न निस्किन्छन् ।
उनीहरु खेतमा जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसाको सिकार गर्छन् । मोरङको सिसवनी जहदाका सन्थाल जातिका लखीराम मुर्मु, रामलाल मुर्मु र तल्लु हस्दा मुसा सिकारको खोजीमा सिसवनी जहदाबाट कटहरी गाविसलगायत गाविसका जमिनमा आउने गर्दछन् ।
उनीहरु कटहरी, सिसवनी बडहरा, हातीमुडालगायत गाविसस्थित खेतमा मुसा मार्न तल्लीन हुने गर्दछन् । आज बिहानदेखि उनीहरुले लगभग एक घन्टाको समय खर्चेर चारवटा मुसाको सिकार गरिसकेका छन् । मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको सिसवनी जहदाका रामलाल मुर्मु बताउनुहुन्छ ।
तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसासहित स्याल, खरायो, वनबिरालो र न्याउरी मुसाको सिकार गर्छन् । विशेषगरी माघ, फागुन, चैत, वैशाख र जेठ महिनामा आफूहरुले विभिन्न सिकार गर्ने गरेको सिसवनी–८ का बल्लु हस्दा बताउनुहुन्छ ।
मुसाले खेतमा खनेको मलिलो माटो हेरर आफूहरुले मुसाको दुलो पत्तो लगाउने गरेको हस्दा बताउँछन् । यस्तै कटहरी–८ का फेकुलाल ऋषिदेवसमेत आफ्ना दुईजना नातिसँगै मुसाको सिकारमा हिँड्ने गर्दछन् । बजारमा बिक्री हुने माछा, मासु अत्यन्त महँगो भएकाले छाक टार्न मुसा मार्ने गरेको फेकुलालको भनाइ छ ।
मुसाको सिकार गर्ने परिपाटीले एकातिर अन्नबालीको सुरक्षा त हुन्छ नै अर्कोतर्फ विपन्न समुदायका मानिसले पोषणयुक्त आहारासमेत पाउने गरेको मुसाका सिकारी बताउँछन् । रासस
















प्रतिक्रिया