१ कार्तिक २०८३, आइतबार

बालबालिकालाई विष खुवाएको आरोप लागेका व्यक्ति थुनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ७ माघ । बालबालिकालाई विष खुवाएको आरोप लागेका धादिङ कटुञ्जे गाविसका नरबहादुर गुरुङलाई जिल्ला अदालत धादिङले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

गत पुस ७ गते तीन बालबालिकालाई विष खुवाएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा कर्तव्य ज्यानअन्तर्गत मुद्दा दायर गरेका थिए ।

विष खाएका कटुञ्जे–७ का चार वर्षीया बालिका एलिना विक र पाँच वर्षीय रन्जिता विकको मृत्यु भएको थियो ।

एलिना र रन्जितासँगै विष खाएकी अर्की ६ वर्षीया एलिना विक घाइते भएकी थिइन् ।

घाइते बालिका एलिनाले जिल्ला प्रहरी कार्यालयमा दिएको बयानमा आफूलाई नरबहादुरले विष खुवाएको आरोप लगाएका छन् ।

घाइते एलिनाले दिएको बयानकै आधारमा मङ्गलबार जिल्ला अदालतमा पेस गरेकामा सोही दिनमै जिल्ला अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।

सो मुद्दामा प्रहरीले सत्य कुरा थाहा पाउने आधुनिक मेसिन पोलिग्राफ प्रयोग गरेको जिल्ला अदालत धादिङका श्रेस्तेदार राजेन्द्रप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

जिल्ला अदालतमा दायर भएका मुद्दामा पोलिग्राफ प्रयोग गरिएको यो पहिलो पटक हो ।

त्यसैगरी गत वैशाखमा धादिङबेँसी शान्तबजारका काजी शाक्यमाथि भएको आक्रमणमा ज्यान मार्ने उद्योगसन्बन्धी मुद्दा परेका कमल गुरुङ र अमृत अधिकारीलाई पनि जिल्ला अदालत धादिङले मङ्गलबारै पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।