काठमाडौँ, ७ माघ । प्रधानमन्त्री सुशील कोइरालाले तामाङ समुदायको महान् चाड तथा नयाँ बर्ष ल्हुक सोनाम ल्होसार (भेडा नयाँ बर्ष) २८५१ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायका समस्त दिदीबहिनी तथा दाजुभाईहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हुनुका साथै भौगोलिक, जलवायु र जैविक विविधतायुक्त नेपाली भूभाग प्रकृतिको अनुपम सुन्दर फूलवारी भएको बताउँदै विविधताले युक्त भएर पनि विभिन्न समुदायहरू बीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको र आत्मीयता बढाएको र एक अर्काका धर्म, संस्कृति, परम्परा र भाषालाई सम्मान गर्ने सुसंस्कार विकसित भएको पनि उल्लेख गर्नुभएको छ ।
हाम्रो उदार बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाले सबै नागरिकलाई आफ्नो रुचि अनुसारको राजनीतिक विचार र धर्म अवलम्बन गर्ने स्वतन्त्रता दिएको उल्लेख गर्दै प्रधानमन्त्रीले ल्हुक सोनाम ल्होसार २८५१ को यस शुभ घडीमा समस्त तमु समुदायलाई संविधानसभाबाट नयाँ संविधान निर्माण गरी हामीले ६ दशक भन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनबाट प्राप्त सङ्घीयता, गणतन्त्र, समावेशितासहितको लोकतन्त्रजस्ता ऐतिहासिक उपलब्धिहरूलाई संस्थागत गर्र्ने कार्यमा धैर्य र संयमताका साथ समस्त राजनीतिक दलहरूलाई साथ दिन हार्दिक तथा विनम्र अनुरोध पनि गर्नु भएको छ ।
सोनाम ल्होसारमा राष्ट्रपतिको शुभकामना
राष्ट्रपति डा रामवरण यादवले सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
उहाँले आज एक सन्देश दिँदै विशेष गरी तामाङ समुदायले आफ्नो परम्पराअनुसार मनाउँदै आइरहेको सोनाम ल्होसारले आफ्नो समुदायको पहिचानलाई मजबुत बनाउन तथा हिमाल, पहाड र तराईमा बस्ने हामी नेपालीबीच एकताको सूत्रमा बाँधी आपसी बन्धुत्वको भावना बढाउने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति डा यादवले देशका सबै चाडपर्व, भाषा, वेषभूषा, संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न सोनाम ल्होसारजस्ता पर्वले हामी सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।















प्रतिक्रिया