काठमाडौँ, ६ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले माघ १० गते भित्र संविधान आउने बताउनुभएको छ ।
संविधानसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै खनालले भन्नुभयो, हामी संविधान निर्माण प्रक्रियालाई अघि बढाउँछौँ, संविधान निर्माणका विकल्पहरु आवश्यकतानुसार निकाल्दै जान्छौँ, माघ ८ नभए ९ वा १० गतेको सेरोफेरोमा संविधान आउन सक्छ ।
एनेकपा माओवादी संविधानसभाको हत्या गर्नेतर्फ उद्धत रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “संविधान ल्याउन पाएनौँ भने संविधानसभाको हत्या गरेको भएन र ?”
“संविधान ल्याउन दुई तिहाई बहुमत दृढताका साथ बैठकमा बसिरहेको छ, यो दुई तिहाईको बहुमतले संविधान ल्याएरै छोड्छ”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी संयमित छौँ, संविधान ल्याउने उपाय हामी निकाल्छौँ, माओवादीको यस्तो चरित्रले देशमा संविधान बन्दैन, देशमा लोकतन्त्र पनि फस्टाउन सक्दैन ।” खनालले थप्नुभयो “हामी लोकतन्त्रलाई सुदृढ गर्न स्थिति धैर्यपूर्वक हेर्दैछौँ ।”
















प्रतिक्रिया