८ कार्तिक २०८३, आइतबार

संविधान निर्माणमा विचलित नहुने काँग्रेसको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress

काठमाडौँ, ६ माघ । नेपाली काँग्रेसले संविधान लेखन प्रक्रियामा विचलित नहुने निष्कर्ष निकालेको छ ।

काँग्रेस संसदीय दलको बैठकले सहमति नभए प्रक्रियाका माध्यमबाट जाने निष्कर्ष निकालेको हो । बैठकपछि सभासद् अर्जुनप्रसाद जोशीले संविधानका अन्तरवस्तुमा सहमतिका लागि ढोका बन्द नभएको र संविधानसभालाई कहीँकतैबाट बन्धक बनाउन नहुने निर्णय भएको बताउनुभयो ।

बैठकले संविधानसभाको बैठकमा सोमबार राति भएको घटनालाई ‘गैरराजनीतिक र गैरसंसदीय घटना’को संज्ञा दिएको छ । बैठकले यस्तो घटनाबाट विचलित नभई संविधान निर्माण गर्न पार्टी निरन्तर लागिरहने पनि स्पष्ट गरेको छ ।

पार्टीले घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग समेत गरेको छ । बैठकपछि काँग्रेसका सभासद् गगनकुमार थापाले पत्रकारलाई दिनुभएको जानकारीअनुसार बैठकले सभाध्यक्ष सुवास नेम्वाङलाई सभाका बैठक निरन्तर सञ्चालन गर्न पनि आग्रह गरेको छ ।

बैठकले राजनीतिक समस्याको समाधान संवाद र सहमतिमार्फत खोज्न आग्रह गर्दै यसका लागि पार्टीे खुल्ला रहेको जनाएको छ ।

बैठकको सुरुमा प्रधानमन्त्री तथा पार्टीका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्थाबारे अवगत गराउनुभएको थियो ।