रामभरोसी महतो
सिरहा, ६ माघ । एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा र बैद्य नेतृत्वको नेकपा–माओवादीले संयुक्त रुपमा आज गरेको बन्दको क्रममा बन्दकर्ताले सिरहामा कान्तिपुर पत्रिका बोकेको गाडीमा आगजनी गरेका छन् ।
कान्तिपुर पत्रिका लिएर विराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको बा ९ च ५८५० नम्बरको भ्यान सिरहाको कर्जन्हा गाविस ८ स्थित परियागपुर चौकमा रोकि आगो लगाएका हुन् ।
बन्दकर्ताले गाडीको सिसा फुटाई गाडीमा आगो लगाएको गाडी चालक अमरबहादुर मगरले बताए । उनका अनुसार बन्दकर्ताले कान्तिपुर पत्रिकाले सामाचार छाप्नमा विभेद गरेको भन्दै संगै रहेको अन्नपूर्ण र नागरिक पत्रिका बोकेको गाडीलाई केही नगरी कान्तिपुरको गाडीलाई आगो लगाएका थिए । बन्दकर्ताले गाडीमा आगो लगाएपछि गाडीको भित्री भाग र गाडीमा रहेको ७ हजार थान पत्रिका मध्ये करिब १६ सय पत्रिका जलेको गाडी चालक मगरले बताए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले बन्दकर्ताले गाडी जलाएको पुष्टि गर्दै आगो लगाउनेको खोजी कार्य भइरहेको बताए । मोर्चाले गरेको बन्दका कारण सिरहामा कुनै पनि सवारी साधन चलेका छैनन् भने बजारका पसलहरु बन्द छन् । बन्दकर्ताहरु सडकमा विहानै देखि प्रदर्शन गरेका छन् ।
















प्रतिक्रिया