काठमाडौँ, ६ माघ । संविधानसभा भवनको बैठक कक्षमा गए राति विपक्षी दलका सभाषदहरुले गरेको क्षतिको विवरण सङ्कलन सुरु भएको छ ।
व्यवस्थापिका–संसद् सचिवालय, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी एवम् प्राविधिकले क्षतिको विवरण सङ्कलन सुरु गरेका हुन् । यसैबीच उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले संविधानसभा बैठक कक्षमा भएको तोडफोड एवम् त्यसबाट पुगेको क्षतिको अवस्थाबारे जानकारी लिनुभएको छ ।
गए राति संविधानसभाको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउने नाम प्रस्तावका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई बोलाएपछि विपक्षी दलका सभाषद्हरुले बैठक बिथोल्दै तोडफोड तथा हातपात गरेका थिए । सभासद् बस्ने कुर्सी, माइक तथा सिसिटिभी तोडफोड भएक छन् । प्रतिपक्षी दलका सांसद बस्नेतर्फका छ लाइन कुर्चीमा बढी क्षति पुगेको छ । क्षतिको यकिन विवरण भने आइनसकेको सचिवालयले जनाएको छ ।
आज अपराह्नका लागि बोलाइएको संविधानसभाको बैठक सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षाको विषयमा पनि मर्यादापालकले बिहानै छलफल गरेको बताइएको छ ।
















प्रतिक्रिया