काठमाडौँ, ६ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा माओवादी र पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज आह्वान गरेको बन्दको कारण राजधानीलगायत देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ ।
राजधानीमा बिहानैदेखि आयोजकले बन्दको समर्थनमा विभिन्न स्थानमा जुलुुस निकालेका छन् । फाट्टफुट्टबाहेक बन्दका कारण सवारीसाधन चल्न सकेका छैनन् ।
प्रहरीका अनुसार विभिन्न ठाउँमा बन्दकर्ताले पार्किङ गरी राखेका बस र ट्याक्सी तोडफोड गरेका छन् । समाचार सङ्कलनमा गएका सञ्चारकर्मीलाई समेत अवरोध पु¥याएका छन् । सवारीसाधन तोडफोडमा संलग्न १८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालले जानकारी दिए ।
राजधानीको बिजुलीबजारमा युएनको ७१०२२३ नम्बरको मोटरसाइकल बन्दकर्ताले तोडफोड गर्दै गरेको दृश्य खिच्दै गरेका एसोसिएट प्रेस (एपी)का पत्रकार उपेन्द्रमान सिंहमाथि कुटपिटसमेत गरेका छन् । साथै सो घटनाका बारेमा पत्रकार सिंहसँग प्रतिक्रिया बुझ्दै गरेका राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार भीष्मराज ओझालाई गालीगलौज गर्दै उनको रेकर्डरसमेत बन्दकर्ताले खोसेर लगेका छन् ।
आज विहान ८ बजेतिर बन्दकर्ताहरुले राजधानीको बबरमहल पुल नजिकै कान्तिपुर पब्लिकेसन्सको गाडीबाट कान्तिपुर दैनिक र काठमाडौं पोष्ट लुटेका छन् ।

चितवनमा बिहानैदेखि जनजीवन प्रभावित भएको छ ।
बिहानै बन्दकर्ताले चितवनमा तीनवटा ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको खैरहनी र भरतपुरका विभिन्न दुई स्थानमा बन्दकर्ताले ट्रकमा आगजनी गरेका हुन् । खैरहनीस्थित साईबाबा ग्यास उद्योगअगाडि ना४ख ८५२३ नम्बरको ट्रकमा आगजनी गरिएको हो ।
यस्तै भरतपुरको मिलनचोकमा पूर्वतर्फ जाँदै गरेको ना३ख २५८६ नम्बरको ट्रक र मुगलिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३८४१ नम्बरको ट्रकमा भरतपुर–१ रामनगरमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
दमकलको सहयोगमा प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बन्दकर्ता चितवनको खैरहनी, रत्ननगर, भरतपुर, नारायणगढ, आँपटारीलगायत क्षेत्रमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
यता, पोखरामा बिहान ८ बजेसम्ममा तीनवटा सवारीसाधनमा तोडफोड गरिएको छ ।
मोर्चाका कार्यकर्ताले एउटा बस र दुईवटा ट्याक्सीमा तोडफोड गरी क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक डिल्लीराज पन्तले बताए । आन्दोलनकारीले पोखराको फिर्के पुलनजिक ग१ज २९६१ नम्बरको ट्याक्सीमा आगो लगाएर जलाउने प्रयास गरिएकामा सुरक्षाकर्मी तत्काल पुगेकाले उनीहरुको योजना सफल हुन सकेन ।
यता, नेपालगञ्ज १२ मा रहेको वेस्टजुन स्कूलमा बन्दकर्ताले परीक्षा सञ्चालन भइरहेको ठाउँमा उत्तरपुस्तिका खोसेर आगजनी गरेका छन् ।
नेपाल बन्दको प्रभाव पूर्वाञ्चल क्षेत्रमा पनि परेको छ ।
मेची, कोसी र सगरमाथा अञ्चलका मुख्य राजमार्ग र सहायक मार्गमा बिहानैदेखि सवारी साधनको आवागमन ठप्प छ । बन्दकर्ताको आह्वानमा शैक्षिक संस्था, कलकारखाना र विराटनगरलगायत विभिन्न बजारसमेत बन्द भएका छन् ।
एम्बुलेन्स, दूध, तरकारी, फलफूल, मलामी, विवाह, अस्पताल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, रेडक्रस र कूटनीतिज्ञका गाडीलाई निर्बाध रुपमा चल्न दिने बन्दकर्ताले जानकारी गराएका छन् ।

















प्रतिक्रिया