काठमाडौँ, ६ माघ । नेपाल बन्दका कारण मंगलबार देशभरको जनजीवन प्रभावित भएको छ । डडेल्धुरा लगायतका जिल्लामा भने बन्दको प्रतिकार समेत भएको छ ।
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चा, नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवादी जनजाति राष्ट्रिय आन्दोलन नेपालले गरेको बन्दले काठमाडौंसहित प्रमुख शहरमा यातायात, उद्योग व्यवसाय र शैक्षिक संस्था चल्न सकेका छैनन् । बन्दकर्ताहरु विहानैदेखि सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै सार्वजनिक सवारी साधनमाथि तोडफोड र आगजनी सुरु भएको छ । काठमाडौको बनस्थलीस्थित ढुंगेधारामा बा १ ज ८२२२ नम्बरको ट्याक्सीमा आगजनी भएको छ ।
यसैगरी, बन्दकर्ताले काठमाडौँकै गुहेश्वरीमा बसमा आगजनी गरेका छन् । वीर अस्पताल अगाडि एउटा मोटर साइकलमा तोडफोड भएको छ । राजधानीमा बिहानभर एक दर्जन सवारी साधनमा तोडफोड भएको छ भने त्यतिकै संख्यामा आन्दोलनकारीहरु पक्राउ परेका छन ।
राजधानी बाहिरका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको छ । पोखरामा बन्दकर्ताहरुले ग १ ज २९५९ नम्बरको बसमा आगजनी गरेका छन् ।
संविधानसभा भवनमा सोमवार मध्यरातमा एमाओवादीले बितण्डा मच्चाएकाले पनि बन्दको असर बढी देखिएको छ । एमाओवादी कार्यकर्ताहरु सडकमा पनि उग्र हुने डरले जनजीवन त्रसित बनेको हो ।
यता, डडेल्धुरामा भने बन्दको विरुद्ध प्रतिकार भएको छ । बिहानै सदरमुकाममा बन्दकर्ताले टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएपछि डडेल्धुराका स्थानीय व्यापारीहरुले बन्द चाहिँदैन भन्दै बन्दको प्रतिकार गरेका छन् । एक हजार भन्दा बढी व्यापारी र सर्वसाधारण सडकमा आएपछि बन्दकर्ता भागेका डडेल्धुराका पत्रकार राजेन्द्र ठगुन्नाले जानकारी दिए ।
















प्रतिक्रिया