काठमाडौँ, ५ माघ । प्रमुख दलका शीर्ष नेताहरु पटकपटकको छलफल र वार्ताबाट पनि निष्कर्ष निकाल्न असफल भएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा सोमबार साँझ बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन भएको हो ।
संविधानका मूलभूत विषयमा सहमति नजिक पुगेको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका नेताहरुले २४ घण्टा बित्नन नपाउँदै कुरा फेरेका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संघीयताका विषयमा सहमति हुन नसकेपछि निर्णयमा पुग्न नसकिएको स्पष्ट गर्नुभयो । सत्तापक्ष लचिलो रुपमा प्रस्तुत हुँदासमेत विपक्षी असहमत भएपछि मतभेदका विषयमा सहमति कायम गर्ने भरमग्दुर प्रयास समेत असफल भएको उहाँले बताउनुभयो ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमति हुन नसक्नुको दोष प्रधानमन्त्री सुशील कोइराला र सत्ता साझेदार दलहरुलाई दिनुभयो । सहमतिको अन्तिम प्रयास असफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, भन्नुभयो, “सहमतिबाटै संविधान जारी गर्न अन्तिम प्रयत्न जारी रहेको बेला सत्ताधारी दलका तर्फबाट जुन व्यवहार प्रदर्शन गरियो, त्यसले ‘हिस्टोरिक ब्लन्डर’ भएको छ ।’’
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सहमतिबाटै संविधान जारी गर्न आफूहरूले दुई दिनको समय मागेको भए पनि सत्तारुढ दल त्यसका लागि तयार नभएको बताउनुभयो ।
अब के हुन्छ त भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ठाकुरले भन्नुभयो, ‘‘मुलुक अब द्वन्द्वमा गयो ।’’
प्रमुख दलको बैठक असफल भएपछि यतिखेर कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । आज बिहान ११ः३० बजे कार्य व्यवस्था र अपराह्न १३ बजेका लागि बोलाइएको संविधानसभाको बैठक दलीय सहमति नहुँदा बस्न सकेको थिएन् । नेताहरु छलफलमा व्यस्त रहँदा सभासद्हरु भने फुर्सदिला थिए । उनीहरु दिनभर गफ चुटेर समय बिताउनेमै व्यस्त देखिन्थे ।
संविधानसभा भवन आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।
















प्रतिक्रिया