यमबहादुर बम
धनगढी, ५ माघ । एकीकृत नकेपा माओवादीका पोलिटब्यूरो सदस्य लेखराज भट्टले सहमतिका नाममा संघीय संरचनामा सुदूरपश्चिमलाई टुक्राउन खोजिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
संघीयताका सबालमा सुदूरपश्चिमबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भन्दा फरक विचार राख्दै आएका नेता भट्टले सोमबार अत्तरियामा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सहमतिको नाममा शीर्ष नेताहरुले सुदूरपश्चिमलाई टुक्राउन खोजे मान्य नहुने धारणा राखे ।
शीर्ष नेताहरुको बैठकमा ‘कैलाली कञ्चनपुरलाई सिंगै पहाडसँग जोड्ने कि कैलालीको पश्चिमी भागलाई थारुवान/थरुहटतिर मिलाउने’ भन्ने छलफलको औचित्य नभएको उल्लेख गर्दै नेता भट्टले भने– ‘सुदूरपश्चिमको भावनाबिपरित यसलाई अलग गर्न खोजिए सुदूरपश्चिमेलीलाई स्वीकार्य हुने छैन् ।’
उनले संघीय संरचनामा सुदूरपश्चिमका सबालमा यसै क्षेत्रका जनतासँग राय, सल्लाह लिएर मात्र अघि बढन आग्रह गरे ।
खस र थारु जातिको कैलाली, कञ्चनपुर साझा भूमि भएको दाबी गर्दै नेता भट्टले यहाँ रहेका सबै समुदायबीचमा रहेको मेलमिलाप कसैलाई पनि काठमाडौंमा बसेर टुक्राउने अधिकार नरहेको जिकिर गरे ।
















प्रतिक्रिया