काठमाडौँ, ५ माघ । संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दल र मधेसी मोर्चाका शीर्ष नेताबीच बैठक जारी छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई वार्ता र छलफलका आधारमा सहमतिमा रुपान्तरण गर्ने प्रयास भइरहेको छ । दलहरुबीच संघीयता, शासकीयस्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीमा दलहरुबीच गम्भीर मतभेद रहे तापनि पछिल्लो समय सहमतिको नजिकमा पुगेको नेताहरुले प्रतिक्रिया दिन थालेका छन् । न्यायप्रणाली, निर्वाचन प्रणाली र शासकीयस्वरुपका विषयमा दलहरु सहमतिको निकै नजिक पुगिसकेको बताइएको छ ।
संविधान लेखनको विषयलाई अघि बढाउने क्रममा देखिएको संघीयतासम्बन्धी जटिलतालाई पनि फुकाउन अब चाँडै नै सक्षम हुने शीर्ष नेताहरुले प्रतिक्रिया दिएका छन् ।
आजको चार दलको बैठकमा सहमतिका लागि मार्गको पहिचान गरेर त्यसलाई टेकेर अघि बढने सहमति भएको वार्तामा रहनुभएका अर्थमन्त्री डा रामशरण महतले जानकारी दिनुभयो ।
आज दिउँसो बस्ने संविधानसभाको बैठक अघि दलहरुले सहमतिको लागि अघि बढने स्पष्ट बाटो तय गर्ने छन् उहाँले भन्नुभयो ।
अहिले चारदलको बैठक केही क्षणका लागि स्थगित भएको र दलहरु आन्तरिक र दुई पक्ष वार्ताको क्रममा रहेको बताइएको छ ।
















प्रतिक्रिया