१ कार्तिक २०८३, आइतबार

दलहरुको ‘अन्तिम प्रयास’ पनि सफल भएन, प्रचण्ड बैठकमै गएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँ, ३ माघ । शनिबार सहमतिका लागि अन्तिम प्रयास गर्ने भन्दै छलफलमा जुटेका शीर्ष नेताहरुको बैठक अन्ततः निष्कर्षविहीन भएको छ ।

संविधानका विवादित अन्तरवस्तुमा सहमति खोज्न बसेको प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीको बैठक बिनानिष्कर्ष सकिएको हो । संविधानसभा भवन नयाँबानेश्वरमा छोटो अवधि बसेको बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित भएका कारण बैठक लामो समयसम्म बस्न नसकेको हो ।

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले प्रचण्ड नआएका कारण बैठक लामो सयमसम्म चल्न नसकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले दाहालजीलाई धेरै समय कुर्‍यौँ, उहाँ नआउनुभएपछि हामी राष्ट्रपति कहाँ जान हिड्यौँ । ”

राष्ट्रपति डा रामवरण यादवले संविधान लेखनका बारेमा भइरहेका प्रयासका बारेमा काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल एनेकपा माओवादी लगायत मधेसवादी दलका शीर्ष नेतासँग शनिबारै परामर्श गर्ने कार्यक्रम छ ।

संविधानका मुख्य अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका बारेमा सहमति खोज्न भन्दै तीन दलको बैठक अपराह्नका लागि तय भएको थियो । बैठकमा एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मात्र उपस्थित हुनुभएको थियो ।

बैठकपछि एमाओवादीका नेता डा भट्टराईले बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । सहमति जुट्न नसक्दा माघ ८ मा नयाँ संविधान जारी हुने सम्भावना न्यून हुँदै गएको छ ।