१ कार्तिक २०८३, आइतबार

एमाले लचिलो हुन तयार: महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrel

काठमाडौँ, ३ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान लेखनमा देखिएका समस्या समाधानका लागि एमाले लचक हुन तयार रहेको बताउनुभएको छ ।

सोमबार राजधानीमा एमालेले गर्न लागेको बृहत कार्यकर्ता भेलाको तयारी बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन प्रणाली, न्याय प्रणाली, शासकीय स्वरुपका विषयमा नेकपा एमाले लचिलो हुन तयार रहेको बताउनुभयो । राज्य पुनःसंरचनाका विषयमा भने एनेकपा माओवादी लगायतका अन्य दल लचिलो भए सहमतिका साथ संविधान निर्माण हुने महासचिव पोखरेलले बताउनुभयो ।

महासचिव पोखरेलले मिश्रित निर्वाचन प्रणाली अपनाउन पार्टी तयार रहेको उल्लेख गर्दै न्याय प्रणाली विभाजित नहुने गरी निश्चित काम, कर्तव्य र अधिकार तोकेर बढीमा १० वर्षका लागि संवैधानिक अदालत गठन गर्न सकिने धारणा पनि राख्नुभएको थियो ।

एमालेले सोमबारको भेलाको तयारीका लागि शनिबार केन्द्रीय कार्यालय बल्खुमा उपत्यकाका पार्टी कमिटी प्रमुख, जनसंगठनका प्रमुख र केन्द्रीय तथा अञ्चल सम्पर्क कमिटीका अध्यक्ष एवम् प्रतिनिधिसहितको संयुक्त बैठक बोलाएको थियो ।

संविधानसभाबाट संविधान निर्माणका सन्दर्भमा भइरहेका पछिल्ला घटनाका बारेमा पार्टीपङ्क्तिलाई जानकारी गराउने, संविधान निर्माणका लागि पार्टीका तर्फबाट सकारात्मक पहलकदमी लिने, संविधान निर्माणको विषयवस्तु र प्रक्रियाका बारेमा आम जनसमुदायलाई अवगत गराउने उद्देश्यले एमालेले भेलाको आयोजना गर्न लागेको हो ।

सचिव योगेश भट्टराराईले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत पार्टीका वरिष्ठ नेताद्वारा संविधान निर्माणका क्रममा विकसित पछिल्ला परिस्थितिका सन्दर्भमा पार्टीका धारणाबारेमा सम्बोधन गर्ने निर्णय भएको जनाइएको छ ।