बागलुङ, ३ माघ । धवलागिरि अञ्चलकै जेठो विद्यामन्दिर पुस्तकालय भाषा, साहित्यको प्रवद्र्धनमा अग्रसर बनेको छ ।
कला, साहित्य र संस्कृतिको जगेर्नाका साथै पुस्तकालयप्रति रुचि जगाउन पुस्तकालयले कार्ययोजना नै तयार गरेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
पुस्तकालयले यही माघदेखि नै नियमित मासिक साहित्य गोष्ठी तथा प्रतियोगितात्मक रुपमा काव्य गोष्ठी चलाउने भएको छ ।
यसअघि पनि वार्षिक रुपमा देवकोटा जयन्तीलगायत अन्य कार्यक्रम तथा अभियान चलाउँदै आएको छ ।
अघिल्लो महिना निर्वाचित पुस्तकालयको नयाँ कार्यसमितिले साहित्य संरक्षण, प्रसार एवम् प्रवद्र्धनका लागि चासो देखाएको छ ।
सचिव राम थापाको संयोजकत्वमा पाँच सदस्यीय साहित्य उपसमितिमेत गठन गरिएको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।
नेपाली तथा विदेशी साहित्यका पुस्तक वृद्धि गर्ने लक्ष्यसमेत लिइएको छ ।
विसं २००३ मा स्थापित सो पुस्तकालयलाई यस क्षेत्रकै ज्ञान, सूचना, जागरण र चेतनाको जग मानिन्छ ।
पुस्तकालयमा करिब १२ हजार थान विभिन्न भाषा र विधाका पुस्तक छन् ।















प्रतिक्रिया