काठमाडौँ, २ माघ । नेपालका लागि डेनमार्कका राजदूत किस्र्टन जिलानले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीको निजी निवास कोटेश्वरमा भएको भेटमा उहाँहरुबीच संविधान निर्माण प्रक्रिया, दलहरुबीचको सहमति प्रयास तथा डेनमार्क–नेपाल सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।
राजदूत जिलानले नेपालमा संविधान निर्माणका सन्दर्भमा अहिले देखिएका समस्या, संविधान निर्माण गर्ने माघ ८ गतेको नजिकिँदो समयसीमा, जनतामा उत्पन्न निराशा र सहमतिको सम्भावना जस्ता विषयमा जिज्ञासा राख्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले दलहरुबीच रहेका असमतिका चार विषयमा दलहरुका अडान तथा नेकपा एमालेको दृष्टिकोण, सहमतिको प्रयास तथा संविधान निर्माण गरी जनतामा उत्पन्न निराशालाई अन्त्य गर्न भैरहेका प्रयत्नहरुका बारेमा जानकारी गराउनुभयो । संविधान निर्माण गरी देशलाई आर्थिक प्रगतिको बाटोमा अगाडि बढ्न ढिला भैसकेको र यसैकारण जनतामा निराशा उत्पन्न हुँदै गएको कुरा उल्लेख गदै उहाँले सहमतिका लागि अधिकतम प्रयत्न भैरहेको तर जनताको चाहना र समयको सीमालाई सबैले बुझ्नै पर्ने भएकोले सोही आधारमा बाँकी समयमा छलफलहरु अगाडि बढाइने कुरा उल्लेख गर्नुभयो ।
















प्रतिक्रिया