२९ आश्विन २०८३, बिहिबार

गुरुङ चलचित्रकी निर्देशक जसुको ‘संगालो’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jasu-Gurung-Sangalo-dainiknepal.com

आश गुरुङ

पोखरा। गुरुङ चलचित्रकी एक मात्र महिला निर्देशक जसु गुरुङले आफूद्धारा निर्देशित विभिन्न गाउँका गीति भिडियोको डिभिडी तयार पार्नुभएको छ । कास्कीको विभिन्न गाउँहरुको परिचयात्मक गीतहरु मध्ये ६ वटा गीतलाई छानेर पहिलोपटक जसुले गुरुङ गाउँको म्यूजिक भिडियो ‘संगालो’ बजारमा ल्याउनुभएको हो ।

Jasu-Gurung-Sangalo-dainiknepal.com2

‘संगालो’ को मंगलबार एक कार्यक्रमकाबीच पोखरामा विमोचन गरियो । जसुले निर्देशन गरेको कास्कीको रमणीय गाउँका ६ वटा गीत र बोनस एउटा गरी ७ वटा गीतको भिडियो रहेको ‘संगालो’लाई तमू धीँ यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, वर्तमान उपाध्यक्ष नन्दजंग गुरुङ, सल्लाहकार कृष्णबहादुर गुरुङ, ङ्योए तमू धीँ लेखनाथका अध्यक्ष जंगबहादुर गुरुङ, तमू ह्यूला छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय प्रचार सचिव मनोज गुरुङ, तमू धीँ नेपालका सचिव गिरीप्रसाद गुरुङ, बौद्ध अर्घौँ सदनका सचिव मोति गुरुङ, तमू पे ल्हू संघका केन्द्रीय सदस्य कञ्चन गुरुङ लगायतले एकसाथ विमोचन गर्नुभएको थियो ।
स्याङ्जाको अर्जुनचौपारी गाविस लामडाँडामा जन्मेर पोखरालाई कर्मथलो बनाएर गुरुङ चलचित्रको सहनिर्देशन साथै गीति भिडियोको निर्देशन तथा कोरियोग्राफर गर्दै आउनुभएका जसुले ‘संगालो’ मा रुपाताल, लान्द्रक, भाचोक, कुइवाङ, भदौरे, क्होला सोँथर साथै बोनस गीतको भिडियो नाम दिएर घान्द्रुक गाउँको गीति भिडियो राख्नुभएको छ । गीतको बीचबीचमा गाउँको परिचय समेत दिईएको बिमोचन कार्यक्रममा जसुले बताउनुभयो । टेलिभिजन कार्यक्रम प्रस्तोता समेत रहनुभएका जसुले आफूले निर्देशन गरेको २० भन्दा बढी गाउँको भिडियो रहेपनि शुरुमा ६ वटा भिडियोलाई मात्र बजारमा ल्याएको बताउनुभयो । ह्वाईट लोटस स्टूडियोको प्रस्तुतिमा निर्माण गरिएको ‘संगालो’ ले ग्रामीण पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने सहभागिले बताएका छन् । स्टूडियोका निर्देशक एवं संचालक युग गुरुङले आगामी दिनमा पनि संगालोलाई निरन्तरता दिईने बताउनुभयो ।

गुरुङ फिल्म एसोसिएसन नेपाल जीफानका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले मोफसलबाट भिडियो डकुमेन्ट्रीको रुपमा आएको ‘संगालो’ बाट मूलधारका भिडियोसंग प्रतिष्पर्धा गर्ने बाटो खुलेको बताउनुभयो । तमू धीँ युकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले जसुको भिडियो ‘संगालो’ले ग्रामीण पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । तमू ह्यूला छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय प्रचार सचिव मनोज गुरुङले अझैपनि केन्द्रीय सञ्चार माध्ययमले आदिवासी जनजातिका क्रियाकलापलाई प्राथामिकतामा नराख्ने गरेको भन्दै दुखेसो पोख्नुभयो । प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरले गुरुङ लगायत आदिवासी जनजातिका भाषा, कला र संस्कार संस्कृतिको प्रवद्र्धनका लागि आफ्नो संस्था र ब्यक्तिगततर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष हुम गुरुङले आदिवासी जनजातिका भाषा, कला र संस्कार संस्कृतिलाई मूलधारका सञ्चारमाध्ययममा संचार माध्ययमसम्म पु¥याउन सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको संचालन फोनिज कास्कीका सचिव रोश्नी गुरुङले गर्नुभएको थियो । कार्यक्रम फोनिज कास्कीको संयोजनमा ह्वाईट लोटस स्टुडियोले आयोजना गरेको हो । कार्यक्रममा भदौरे युवा क्लवका अध्यक्ष अमर गुरुङ, लालीगुराँस युवा क्लव धम्पुसका अध्यक्ष सन्देश गुरुङ लगायतले संगालोमा आफ्नो गाउँको गीत र भिडियो परेकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।

विगत ८ बर्षदेखि गुरुङ गीतसंगीत र चलचित्रलाई करिअर बनाएर गीतसंगीत र चलचित्रमार्फत गुरुङ भाषा, कला र संस्कार संस्कृतिको जगेर्नामा तल्लीन जसु गुरुङ फिल्म एसोसिएसन नेपाल जीफानका द्धितीय उपाध्यक्ष समेत हुनुहुन्छ । यसअघि गुरुङ समुदायका महिलाले केही बृत्तचित्रको निर्देशन गरेपनि चलचित्रको निर्देशन गर्नुभएका जसु पहिलो ब्यक्ति मानिन्छ । उहाँले नास मु ह्रैगो, जुनीजुनी, च्हचमी, सुराग, गेटपास लगायतका आधा दर्जन गुरुङ चलचित्रको सहनिर्देशन गरिसक्नुभएको छ ।