१ कार्तिक २०८३, आइतबार

एमाओवादी मोर्चा एक कदम पछाडि हटे समयमै संविधानः एमाले नेता भुसाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ghansyam-Bhusal-Siraha

सन्तोष कुमार

सिरहा, २९ पुस । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमाओवादी नेतृत्वको मोर्चाले एक कदम पछाडि हटे सहमतिकै आधारमा संविधान जारी हुने बताएका छन् ।

मंगलवार सिरहाको लहानमा नेकपा एमालेको नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान जारी गर्नमा एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मोर्चा बाधक बनेको पनि आरोप लगाए ।

उनले भने, ‘मुलुकको जिम्मेवारी हाम्रो काँधमा आएको छ । त्यसैले हामी चाहन्छौं कि सहमतिकै आधारमा माघ ८ मा संविधान जारी होस् । तर प्रचण्डले संविधानसभालाई नै असफल बनाउन संविधान जारी गर्न नदिने षड्यन्त्रमा लागेको छ ।’
पहिलो संविधानसभाबाट शक्ति पाएर पनि प्रचण्डले संविधान जारी गर्न नसकेको र अहिले काँग्रेस– एमालेलाई पनि असफल बनाई बदला लिन खोजेको नेता भुसालले बताए । पहिलो संविधानसभाबाट प्रचण्डले जुन शक्ति पाउनुभएको थियो, आफ्नै नालायकीका कारण त्यो शक्ति बर्बाद पारेको उनको भनाई थियो ।

अहिलेको अवस्थामै देश १० बर्ष रह्यो भने मधेशी, पहाडी, थारु, मुस्लिम लगायतका सबै सखाप हुने उनले बताए । उनले यस्तो संकट आउन नदिन र देशलाई समृद्ध बनाउन माघ ८ मा संविधान सहमति नभएपनि दुई तिहाइको शक्तिबाट जारी गर्ने बताए ।

उद्घाटन सत्रमा एमाले सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद रामचन्द्र यादब, केन्द्रिय सदस्य बलदेव चौधरी, सगरमाथा अञ्चल इन्चार्ज जगरनाथ खतिवडा लगायतले पनि माघ ८ मा जसरी भएपनि संविधान जारी गर्ने बताएका थिए ।

Siraha-UML

एमालेको अधिवेशन भोलीसम्म चल्नेछ । एमाले जिल्ला अध्यक्षका लागि रामऔतार यादब र प्रमोद यादबबीच कडा प्रतिस्पर्धाको सम्भावना छ । रामऔतार संस्थापन र प्रमोद माधव नेपाल निकट मानिन्छन् । सहमतिको आधारमा कार्य समितिका पदाधिकारी चयन गर्न नसके बुधबार चुनाव हुने एमालेका युवा नेता सत्यनारायण यादबले बताए ।

एमाओवादी नेतृत्वको तीस दलिय मोर्चाको हड्तालको बाबजुद पनि उलेख्य मात्रामा नेता तथा कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रम स्थल कार्यकर्ताले खचाखच भडेको थियो । बन्दकर्ताहरुले सवारी साधन चल्न नदिएपछि गाउँ गाउँबाट एमाले कार्यकर्ताहरु साइकल र मोटरसाइकल चढेर आएका थिए ।

बोलेरोमा चढेर कार्यक्रममा आउने क्रममा एमाले नेतृ सितादेवी साहलाई गोलबजारमा बन्दकर्ताहरुले दुव्र्यवहार गरे । नेतृ साहले चढेको बोलेरो गाडीको सिसा बन्दकर्ताहरुले फुटाएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली आउने भने पनि अन्तिम समयमा स्थगित भएको थियो ।

तस्विरहरु: सन्तोष कुमार/दैनिक नेपाल