
गोरखाबजार, २९ पुस । नेकपा–माओवादीका सचिव देव गुरुङले प्रक्रियाबाट संविधान नबन्ने ठोकुवा गर्नुभएको छ । विवादित विषयमा दलहरुबीच सहमति नजुट्ने दाबी गर्दै सचिव गुरुङले प्रक्रियामा गए पनि संविधान जारी हुनै नसक्ने बताउनुभयो ।
‘प्रक्रियाबाट संविधान बन्ने भए पहिलो संविधानसभाले नै संविधान जारी गथ्र्यो,’गोरखा सदरमुकाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गुरुङले भन्नुभयो, ‘असहमतिका मुद्दा ज्यूँकात्यूँ छन् । कसरी संविधान जारी हुन्छ ?’ माघ ८ मा संविधान नबन्ने उहाँले उल्लेख गर्नुभयो ।
‘माघ ८ मा केही गरे पनि संविधान बन्दैन’ उहाँले भन्नुभयो, ‘सर्वपक्षीय सभा गरेर नयाँ शिराबाट अघि बढाँैं । माघ ८ को कुनै अर्थ छैन ।’ कमल थापादेखि चित्रबहादुर केसीसमेतका पार्टीलाई समेटेर सर्वपक्षीय सभा गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘सानाठूला दल सबैलाई समेटेर सर्वपक्षीय सभामार्फत देशमा संविधान बनाआँैं’ उहाँले भन्नुभयो, ‘सबैको सहमति जुटाएर बनाएको संविधानमात्रै जनताको संविधान हुन्छ । प्रक्रियाले बनाएको संविधानले जनताको हित गर्दैन ।’ विगतका सम्झौता, सहमति सत्तारुढ दलले बिर्सेको उल्लेख गर्दै गुरुङले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितका लागि निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।
सत्तारुढ दलका नेताले एक अक्षर पनि सहमति हुँदैन भनेकाले केही समयअघि सरकारले बोलाएको राजनीतिक सभामा आफूहरुले भाग नलिएको गुरुङले दाबी गर्नुभयो ।
दरबार हत्याकाण्डदेखि विदेशी शक्ति नेपालमा हाबी भएको उहाँको भनाइ छ । ‘विदेशी शक्तिकेन्द्रले नाजायज फाइदा लिएका छन’ उहाँले भन्नुभयो, ‘दलहरुको अहङ्कारले देश सहमतिमा चल्न सकेन । विदेशी हावी भए ।’ संविधान निर्माणका क्रममा मुख्य मुद्दामा सहमति नभए जनमत सङ्ग्रहमा जान सकिने उहाँको जिकिर छ ।















प्रतिक्रिया