खोटाङ, २८ पुस । खोटाङमा एक युवती मृत फेला परेकी छिन् । नेर्पा–७ की २१ वर्षीया सपना राई दिक्तेल नगरपालिका–६ मा पर्ने छेपे खोलास्थित मुर्दाघरमा मृत फेला परेकी हुन् ।
खेतमा पानी हाल्न गएका स्थानीयवासीले सोमबार मुर्दा घरमा युवतीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनी दिक्तेल जान्छु भन्दै आइतबार घरबाट हिँडेको आफन्तले जनाएका छन् ।
मृत युवतीले विष सेवन गरेर आत्महत्या गरेको हुन सक्ने घटनास्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो ।
गौतमका अनुसार उनको साथमा एउटा लेडिज ब्याग, मेटासिट र रेडबुलको खाली बट्टा फेला परेको छ ।
युवतीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ । तीन वर्षअघि स्थानीय सञ्जीव राईसँग वैवाहिक बन्धनमा बाँधिएकी सपनाले के कारणले आत्महत्या गरेकी हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा विदेशमा रहेका छन् । रासस















प्रतिक्रिया