विजय थापा
डीसी । नेपाली चलचित्रका नायक जीवन लुइँटेल नेपाली चलचित्र ‘ठूली’ को प्रदर्शनको लागि अमेरिकामा आई पुगेका छन् । उनी अहिले चलचित्र ‘ठूली’ को प्रदर्शन गर्न अमेरिकाका विभिन्न राज्य तथा शहरहरुको भ्रमणमा निस्केका छन् । उनको साथमा ‘ठूली’ का निर्माता पुष्कर पन्त पनि छन् ।
उनले चलचित्र ‘ठूली’ लाई नेपाली समुदायले मन पराई दिनुहुनेछ भन्ने विश्वास गर्दै आफ्ना प्रशंसक र चलचित्रप्रेमी दर्शकहरुसँग आफुसँगै बसेर हेर्ने बताएका छन् । ‘म दर्शकहरुको प्रतिक्रिया पनि सुन्छु,’ उनले भने, ‘कलाकार भएको नाताले सल्लाह र सुझाव ग्रहण गर्न सके अझ कलाकारिता तिखारिन्छ ।’ कम्तिमा ५ वटा शहरमा ‘ठूली’ प्रदर्शन गर्ने उनले तयारी गरेका छन् ।
गत बर्ष सेप्टेम्बर ७ ,२०१४ मा डिसीमा ‘ठूली’ प्रदर्शन हुदा नायक लुइँटेल छोटो समयको लागि अमेरिकाको भ्रमणमा आएका थिए । उनको दोश्रो पटक अमेरिकाको भ्रमण हो । नायक जीवन लुइँटेलले करिब डेढ महिना अमेरिकामा बिताउने तयारी गरेका छन् ।
‘ठूली’ नेपाल अधिराज्यभर हरितालिका तीजको दिन गत भाद्र ६ गते प्रदर्शन भएको थियो । एभरेष्ट कला यात्रा चलचित्रको ब्यानरमा पुस्कर पन्तले निर्माण गरेको उक्त चलचित्रको कार्यकारी निर्माता सुनिल बस्नेत हुन् । चलचित्रमा नायक जीवन लुइटेल, नायिका गरिमा पन्त, कञ्चन ठकुरी, निला बस्नेत, बिसाल पहाडी लगायतको मुख्य अभिनय रहेको छ ।
उनले आफुले अभिनय गरेको अर्को चलचित्र ‘धुन’ आगामी चैत ६ गते देशभर प्रदर्शन गरिने जानकारी पनि दिए ।















प्रतिक्रिया