काठमाडौं, २८ पुस । विदेशमा व्यावसायिक फुटबल लिगमा स्टार खेलाडी अनुबन्धन गर्न क्लबहरूबीच तँछाडमछाड भए पनि नेपालमा यसबारे विरलै क्लबबीच रस्साकस्सी चल्छ।
नेपालमा राष्ट्रिय लिग सुरु हुन १० दिनमात्र बाँकी छँदा विदेशमा जस्तै रस्साकस्सी देखिएको छ। नेपाली यू – १७ राष्ट्रिय टोलीका खेलाडीलाई आफ्नो टोलीमा समावेश गर्न आइतबार चार क्लबबीच ठूलै तँछाडमछाड भयो।
नेपाली युवा फुटबलमा प्रभावशाली टोलीका रूपमा लिइएको यू-१७ का खेलाडीलाई आफ्नो क्लबमा आबद्ध गर्न सुदूरपश्चिम फुटबल क्लब कैलाली, लुम्बिनी फुटबल क्लब रूपन्देही, मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबले ठूलो जोड गरे।
अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीले उत्पादन गरेका १६ जना खेलाडीलाई समूह ए र बी मा गरी बोलकबोल गरेको थियो।
एन्फाले एउटा समूहलाई कम्तीमा पाँच लाख रुपैयाँ मूल्य राखेको थियो। खेलाडी क्लबलाई दिन एन्फाले अपनाएको बोलकबोल प्रणालीमा कैलालीले शतप्रतिशत बाजी मार्यो।
राष्ट्रिय लिगमा आफ्नो तर्फबाट खेलाउन फुटबल क्लब कैलालीले यु-१७ राष्ट्रिय टोलीका १६ जनालाई १३ लाख रुपैयाँमा अनुबन्धन गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
कैलालीले समूह बी का लागि आठ लाख रुपैयाँ र ए का लागि पाँच लाख रुपैयाँ लगानी गरेको छ। समूह ए को बोलकबोलमा कैलालीको मात्र नाम परेको थियो।
बी का लागि थ्रीस्टार पाँच लाख ५५ हजार ५५ रुपैयाँ ५५ पैसा, रूपन्देही पाँच लाख ५५ हजार ५५ रुपैयाँ र मनाङ पाँच लाख ३० हजार रुपैयाँ लगानी गर्न तयार भएका थिए।
कैलालीले दुवै समूहलाई १३ लाख रुपैयाँ लगानी गरेको छ। कैलालीले लिग सकिएपछि टोलीका सबै खेलाडी एन्फालाई बुझाउनुपर्ने छ।
एन्फाले समूह ुएु मा सुजित गुरुङ, शिव सुवेदी, गौरव बुढाथोकी, दिनेश राजवंशी, सुदिन थापा, अमित तामाङ, देवराज लिम्बू र रवि भण्डारीलाई राखेको छ।
यसैगरी समूह ुबीु मा सुनिल बल, जनममान लिगल, हेमन्त थापामगर, तेजेन्द्र पुन, कमल थापा, आकाश तामाङ, आकाश थापा र श्रीजन श्रेष्ठलाई राखिएको छ।
टोलीका कप्तान विमल घर्तीमगर प्रशिक्षणका लागि बेल्जियम जान लागेकाले उनलाई समूहमा नराखिएको हो।
टोलीबाट खेल्दै आएका अञ्जन बिष्ट, रोमन रसाइली, अनिल राई र रूपेश तामाङलाई भने एन्फाले यसअघि नै इच्छा लागेको क्लबमा जान फुकुवा गरेको थियो। युवा टोलीलाई बालगोपाल महर्जनले प्रशिक्षण दिँदै आएका थिए। ती खेलाडीलाई एन्फाले पाँच वर्षदेखि एकेडेमीमा राख्दै आएको थियो।
टोलीका सबै खेलाडीलाई एउटा क्लबले अनुबन्ध गर्नु राम्रो विषय भएको एन्फाका विकास निर्देशक सञ्जीव मिश्रले बताए।















प्रतिक्रिया