मेलम्ची, २७ पुस । भौतिक पूर्वाधार तयार नगरी नगरपालिका घोषणा गरेको भन्दै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा पर्ने फटकशीलाका वडा नं १० र ११ का वडा कार्यालयमा शनिबार आक्रोशित स्थानीय बासिन्दाले अनिश्चितकालीन तालाबन्दी गरिदिएका छन् ।
करिब दुई हजारभन्दा बढी स्थानीयवासीले नगरपालिका घोषणापछि जनताले झन् दुःखमात्रै पाएको भन्दै तालाबन्दी गरिएको लोक गायक विदुर घोरासैनीले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाले तत्काल गुठी समस्या समाधान गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण हुनुपर्ने माग गर्दै प्रशासनविरुद्ध नाराबाजी गर्दै मेलम्ची नगरपालिका खारेजीको मागसमेत गरेका छन् ।
हामीले सानोतिनो व्यवसाय गर्दा पनि सुख पाएनौँ, नक्सा पासदेखि जग्गाको कर तिर्नुपर्ने, कुखुरा पाल्न टहरा बनाउँदा पनि अनेक झमेला व्यहोर्नुपर्ने नाममात्रको नगरपालिका किन चाहियो, स्थानीयको भनाइ छ ।
नगरपालिका घोषणा भएसँगै नगरपालिकाका कर्मचारी लिस्ट लिएर आएका रहेछन्, पढ्नै दुई घन्टा लाग्यो, कति शीर्षकको मात्र कर तिर्नु ?, लोक गायक एवम् स्थानीय विदुर घोरासैनीले भन्नुभयो । जनतासँग कर माग्न आउनुभन्दाअघि जनतालाई केही देउ नगरपालिका, हैन भने हामीलाई नगरपालिका स्वीकार्य हुनेछैन, स्थानीय भन्छन् ।
नगरपालिका हुनका लागि चाहिने मापदण्ड नै पूरा नगरी सरकारले हतारमा गरेको यस कदमले अहिले देशभरि नै यस्तै समस्या उत्पन्न भइरहेको स्थानीय बताउँछन् । रासस
















प्रतिक्रिया