काठमाडौँ, २६ पुस । एकीकृत नेकपा (माओवादी)ले प्रमुख राजनीतिक दलबीच संविधानका विवादित विषयमा छलफल चलिरहेको बेला नेकपा(एमाले)का अध्यक्षका कारण वातावरण भाँडिएको आरोप लगाएको छ ।
‘‘संविधान निर्माण नहोस् भन्ने ध्येयका साथ एमालेका अध्यक्ष ओली वातावरण भाड्दै हिँड्नुभएको छ । यसले दलहरुबीच समेत अविश्वासको वातावरण बनाएको छ’’ एमाओवादी प्रवक्ता दीनानाथ शर्माले भन्नुभयो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार भेटघाटको अवसरमा उहाँले परिवर्तनका मुद्दालाई सम्बोधन गर्न नचाहने प्रवृत्तिका कारण संविधान लेखन प्रक्रिया विवादको भूमरीमा फसेको बताउनुभयो ।
आफ्नो पार्टीको नेतृत्वमा रहेको ३० दलीय मोर्चा असाध्यै लचिलो भएर संविधानको अन्तरवस्तुमा सहमति जुटाउन लागेको तर्क गर्दै उहाँले शासकीय स्वरुप र सङ्घीयताका विभिन्न विकल्पका बारेमा छलफल गर्न तयार रहेको जानकारी गराउनुभयो ।
उहाँले माघ ८ गतेभित्र पूर्णरुपमा संविधान नबने पनि सहमतिको वातावरण बने त्यो महत्वपूर्ण विषय भएको बताउनुभयो । संविधान घोषणा गर्नेभन्दा पनि अन्तरवस्तुमा सहमति गर्ने कुरा ठूलो भएको उहाँको धारणा थियो ।
उहाँले संविधानसभाबाट संविधान नबनाइ बल र बहुमतको आधारमा बनाउने कुरा आएकाले त्यसका विरुद्ध आन्दोलन गर्नुपरेको तर्क गर्नुभयो ।
















प्रतिक्रिया