काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का नेता प्रभु साहले आफ्नो चिनारीमा थप विविधता थप्दै अब गीतकार र निर्माताको रुपमा समेत उभ्याउनुभएको छ ।
शनिबार सार्वजनिक गरिएको ‘मधेस के माटी’ गीति एल्बममार्फत साह गीतकार÷निर्माताको रुपमा आउनुभएको हो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापतिसमेत रहनुभएका साहले जनयुद्धकालमा तत्कालीन नेता मणि थापाको उत्प्रेरणामार्फत आफूले गीत लेख्न सुरु गरेको कार्यक्रममा जानकारी दिनुभयो ।
नयाँ संविधान छिटो र परिवर्तकारी बन्न एल्बमका गीतले सहयोगी भूमिका खेल्ने आशा सभासद् साहले व्यक्त गर्नुभयो । मधेसका सुख, दुस्ख, खुसी सबैको समिश्रण एल्बममा पाइने उहाँको भनाइ छ । तराई मधेस सद्भावना पार्टीका सभासद् नरेन्द्र साहले पिछडिएको वर्गले अधिकार प्राप्तिका लागि जनचेतना जगाउन एल्बम सहयोगी हुने आशा गर्नुभयो ।
उदितनारायण झा, रामा मण्डल, रिकु जयसवाल, रामबाबु पटेल, मनिषा पोखरेल, इन्दु सोनाली, रविराजलगायत कलाकारको स्वर रहेको एल्बममा सातवटा गीत रहेको र ती सबै भोजपुरी भाषामा रहेका छन् ।
एल्बमका केही गीत भारत र केही नेपालमा रेकडिङ गरिएका हुन् । एल्बमका गीतमा सङ्गीतकार शिखर सन्तोष र रामबाबु पटेल रहनुभएको छ भने गीतकारको रुपमा उपेन्द्र साहनी पनि रहनु भएको छ ।














प्रतिक्रिया