रुपन्देही, २६ पुस । विगत केही दिनदेखि निरन्तर कायम रहेको शीतलहर र बाक्लो हुस्सुका कारण अत्यधिक चिसो बढेपछि रुपन्देहीसहित पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
शीतलहरस“गै अत्यधिक जाडो बढेपछि बालबालिका तथा वृद्धवृद्धा त्यसको प्रत्यक्ष मारमा परेका छन् भने जाडोबाट दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र चालकहरु पनि प्रभावित भएका छन् । विगत दुई दिनदेखि दिनमा तथा रातमा बाक्लो शीतलहर परेका कारण जनजीवन झनै कष्टकर बनेको छ ।
चिसो बढेपछि चिसोबाट बच्न सर्वसाधारणले जाडो छल्न ठाउ“ठाउ“मा आगो बालेर बसेका छन् । बाक्लो हुस्सुसहितको चिसोका कारण बाटोसमेत राम्रोसँग नदेखिँदा छोटो तथा लामो दूरीका सवारी साधन चलाउन कठिनाइ भएको सवारी चालक रामप्रसाद भण्डारीले बताउनुभयो ।
अत्यधिक जाडोका कारण आम मानिस घरमै बस्न बाध्य भएपछि कतिपय बस यात्रुको अभावमा खाली नै गन्तव्यतर्फ हिँड्नुपरेको उहाँले बताउनुभयो ।
चिसोका कारण रुपन्देहीको भैरहवा, लुम्बिनी, मर्चवार, पर्रोहा, सालझण्डी, मणिग्राम, शङ्करनगरलगायत नवलपरासी, कपिलवस्तुलगायत जिल्लाका सहरस्थित स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाका बिरामीको सङ्ख्या बढ्दै गएको अस्पतालले जनाएका छन् ।
जाडो तथा शीतलहरका कारण बालबालिकामा निमोनिया रोग बढी देखापरेको छ भने वृद्धवृद्धामा दमको रोगसमेत बढ्न गएको चिकित्सकको भनाइ छ ।
चिसो र शीतलहरका कारण स्कुलमा विद्यार्थीको सङ्ख्यामा कमी आएको छ भने कतिपय सरकारी विद्यालयले जाडो बिदासमेत दिएका छन् । जाडोकै कारण सरकारी कार्यालयमा सेवाग्राहीसमेत कम देखिन थालेका छन् । बाक्लो कुहिरोका कारण भैरहवा–काठमाडौँ सेक्टरको हवाई उडानसमेत प्रभावित भएको छ ।
मौसमविदका अनुसार तराईमा समथर भूमि भएका कारण चिसो हावाको मात्रा बढेर शीतलहर चल्न सुरु भएको हो । बाक्लो हस्सु र कुहिरोले सूर्यको किरण छेकिने भएकाले झनै शीतलहर चल्न मद्दत पुगेको मौसमविद्को भनाइ छ । रासस
















प्रतिक्रिया