८ कार्तिक २०८३, आइतबार

काँग्रेस र एमालेका सभासद्हरुको छुट्टै भेला, यस्तो छ निष्कर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Uml

काठमाडौँ, २६ पुस । नेपाली काँग्रेस र नेकपा (एमाले) लगायत दलसम्वद्ध सांसद्हरूले सहमतिका आधारमा संविधान निर्माण प्रक्रिया अगाडि बढ्न नसके प्रक्रियामा गएर भएपनि आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रबार एक भेलाको आयोजना गरेर उनीहरुले मुलुकको सार्वभौमसत्ता र अखण्डतामा खलल पुग्नेगरी जातीय आधारमा राज्यको पुनःसंरचना गर्न नहुने र हिमाल, पहाड, तराईलाई छुट्टयाउन नहुने भन्दै सबैले मान्ने गरी अगाडि बढ्नुपर्ने अवधारणा अगाडि सारेका हुन् ।

सहमतिकै आधारमा संविधान जारी गर्न सके सबैभन्दा उत्तम हुने भन्दै भेलाले सहमतिको नाममा लामो समय व्यतित भइसकेकाले अझै पनि सोही प्रक्रियाको पछि लाग्ने हो भने जनअपेक्षाअनुसार संविधान जारी हुन नसक्ने भएकाले तत्काल प्रक्रियामा जानुपर्नेमा भेलाले जोड दिएको नेकपा (एमाले) का सभासद् प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

आफूहरूले यही पुस २९ गतेसम्म सहमति नभए तत्काल प्रक्रियामा जान संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गर्ने निर्णय समेत गरेको उहाँको भनाइ छ ।

प्रक्रियाका आधारमा संविधान जारी गर्नुपर्छ भन्ने जनमत दुई तिहाई भन्दा बढी भएको भन्दै भेलाले एकीकृत नेकपा (माओवादी) र मधेसवादी दलले भनेजस्तो पूर्ण सहमति हुनै नसक्ने र संसारमा कहीँ पनि सहमतीय प्रक्रियामा संविधान जारी नभएको ठहर गरेको नेपाली काँग्रेसका सभासद् पद्मनारायण चौधरीको भनाइ छ ।

प्रक्रियाका आधारमा संविधान जारी गर्न दबाव दिने उद्देश्यले हस्ताक्षर अभियान समेत सञ्चालन गर्ने निर्णय गरिएको छ । हस्ताक्षर सभाध्यक्ष नेम्वाङलाई बुझाइने काँग्रेसका सभासद् रामहरि खतिवडाले जानकारी दिनुभयो ।

‘‘सहमति भन्दाभन्दै अघिल्लो संविधानसभा विघटन नै भयो, संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको एक वर्र्ष पनि कुरियो, तर कहिल्यै दलहरूबीच सहमति भएन, अब धेरै कुर्न सकिँदैन । अब पुस २९ गतेदेखि प्रक्रियामा जानु पर्छ ।’’ सभासद् खतिवडाले भन्नुभयो ।

भेलाले संविधानसभाका अध्यक्ष नेम्वाङलाई बैठक निरन्तर राख्न र मस्यौदाको प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्ने सभासद्् ज्वालाको भनाइ छ । भेलामा काँग्रेस, एमाले, राप्रपा, नेकपा (माले) लगायत दलसम्वद्ध सभासद्को सहभागिता थियो ।