काठमाडौँ, २६ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।
आयोगका सचिव प्रेमकुमार राई नेतृत्वको टोलीले विमानस्थलको स्थलगत निरीक्षणपछि त्यसको सुरक्षामा खटिएका सुरक्षा निकायका पदाधिकारी, सम्बन्धित मन्त्रालयका सचिव तथा अन्य सम्बद्ध कर्मचारीलाई ट्याक्सी व्यवस्थापन, श्रम कक्ष सहज स्थानमा स्थापना तथा अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रीका सामान निकाल्ने ‘कन्भेयर बेल्ट’ तत्काल व्यवस्थित गर्न निर्देशन दिएको हो ।
विमानस्थल व्यवस्थापनसँग सम्बन्धित एवम् सरोकारवाला करिब ६० कार्यालयका एवम् गैरसरकारी निकायका पदाधिकारीसँगको छलफलपछि आयोगका प्रवक्ता श्रीधर सापकोटाले पत्रकार सम्मेलन गरेर आयोगले आज दिएको निर्देशन कार्यान्वयन भए नभएको निरन्तर अनुगमन गरिने बताउनुभयो ।
आयोगले भन्सार कार्यालयले विमानस्थलमा राखेको एक्सरे मेसिनले ढिलो सामान ‘स्क्यान’ गर्दा यात्रीलाई कठिनाइ भएकाले हाललाई द्रूत सेवा प्रवाह गर्न सम्बन्धित कर्मचारीले ‘म्यानुअल्ली’ सामान जाँच्ने, शनिबार नै विमानस्थलमा खानेपानीको उचित प्रबन्ध गर्ने र यात्रीका सामान बिनाझन्झट प्रक्रिया पु¥याएर छाड्न निर्देशन दिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
विमानस्थलको पूर्वाधार विकासका निम्ति दीर्घकालीन रणनीति तयार गर्न तथा यात्रीका गुनासा व्यवस्थापनका लागि विमानस्थलस्थित प्रहरी कार्यालयका प्रमुखको नेतृत्वमा संयन्त्र बनाएर तत्काल लागू गर्न आयोगले निर्देशन दिएको छ ।
आयोगले विभिन्न विमानबाट आएका सामानको उचित व्यवस्थापनका लागि तत्काल जानकारी गराउन संयन्त्र तयार गर्ने, ट्याक्सी तथा अन्य सवारीसाधनको पाकिर्ङको व्यवस्थापन मिलाउन नेपाल प्रहरी विमानस्थल कार्यालयले नेतृत्व लिने र सम्बन्धित निकायलाई त्यसबारेमा जानकारी आजै गराउन पनि निर्देशन दिएको छ ।
आयोगकै निर्देशनमा विमानस्थलमा उत्पन्न समस्यालाई समाधान गर्न तत्काल नेपाल वायु सेवा निगमका अनिल घिमिरे, नागरिक उड्डयन प्राधिकरणका टेकनाथ सिटौला, भन्सार कार्यालयका योगेन्द्र ओझा र नेपाल प्रहरीका विनोद घिमिरे सम्मिलित कार्यदल पनि शुक्रबारै गठन गरिएको छ । आयोगले सात दिनभित्र नयाँ स्थानमा श्रम डेस्क राख्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएको छ ।
















प्रतिक्रिया