एक अर्ब रुपैयाँको कोष खडा गरेर समाजसेवा गर्ने मन त धेरैलाई होला, तर त्यति ठूलो हैसियत कमैको छ । तपार्इं लमजुङको विकट गाउँमा हुर्किएको एक नेपाली, यति ठूलो हैसियत कसरी बनाउनुभयो ?
म आफूलाई सम्पन्न भनेर त अहिले पनि भन्दिनँ, तर अहिलेसम्म जेजति उपलब्धि प्राप्त गरेको छु, त्यो सबै मैले पाएको शिक्षा र अवसरका कारणले हो । मैले पहिले रसिया र पछि अस्ट्रेलियामा उच्च शिक्षा पाएँ । अस्ट्रेलियाजस्तो देश जहाँ समाज र ‘सिस्टम’ले हरेकलाई अघि बढ्न समान अवसर दिन्छ, त्यो अवसर सदुपयोग गरेर मैले अहिलेसम्मको उपलब्धि प्राप्त गरेको हुँ । मैले उचित शिक्षा नपाएको भए अहिले पनि आफ्नै लागि मात्र संघर्ष गरिरहेको हुन्थे, समाजको बारेमा सोच्ने हैसियत हुने थिएन । अहिले पनि नेपालमा हेर्नोस्, हरेक वर्ष तीन–चार लाख विद्यार्थीले एसएलसी दिन्छन् । तर, उच्चमावि पुग्दा त्यो संख्या आधा हुन्छ, विश्वविद्यालयमा त नगन्य मात्र विद्यार्थी पुग्छन् । विश्वविद्यालयमा जाने र दक्ष बन्न पाउने अवसर पाएको भए यो देशका सबैजसो नागरिक मजस्तै बन्थे, अझ त्योभन्दा पनि सफल हुन्थे । तर, अधिकांश युवाहरूले त्यो अवसर पाएका छैनन्, त्यसैले पसिना बगाउन दिनमा हजारौँको संख्यामा विदेश गइरहेका छन् । हामीले फाउन्डेसन खोल्नासाथ सबै समस्या समाधान हुन्छ र सारा नेपालीलाई अवसर सिर्जना हुन्छ भन्ने अवश्य होइन । तर, हामीले सुरुवात गरेका छौँ, जसले नेपाली युवालाई उच्च शिक्षा पाउने अवसर सिर्जना गर्न केही न केही सघाउ अवश्य पुर्याउनेछ ।
तपाईंले शिक्षाको अवसर सिर्जना गर्ने कुरा गर्नुभयो, तपार्इं सानो हुँदा प्रारम्भिक शिक्षाको व्यवस्था कस्तो थियो ? उच्च शिक्षाको अवसर कसरी जुट्यो ?
मैले लमजुङ घलेगाउँनजिकै नायुन भन्ने गाउँ छ, जहाँ करिब ४० घरको बस्ती छ । त्यतिवेला गाउँमा प्राथमिक विद्यालय मात्र थियो, मावि पढ्न दुराडाँडा जानुपथ्र्यो । घरबाट आऊ–जाऊ गर्न सम्भव थिएन, हामी डेरा गरेर बस्थ्यौँ । अहिलेजस्तो होटेलमा खाने चलन थिएन, नुन, तेल, चामल सबै घरबाट ल्याउनुपथ्र्यो । बुबाले भरिया लगाएर सामान बोकेर मलाई भेट्न आउनुहुन्थ्यो, कहिलेकाहीँ भारी आफैं पनि बोकेर आउनुहुन्थ्यो । हामी विभिन्न गाउँका विद्यार्थी मिलेर बस्थ्यौँ । होटेलमा खाने चलन नभएकाले नगदको समस्या हुँदैनथ्यो, तर कहिलेकाहीँ घरबाट सामान समयमा आइनपुग्दा खानेकुराको समस्या हुन्थ्यो । कहिलेकाहीँ पैँचो चलाएर खान्थ्यौँ, तर कहिलेकाहीँ कसैको घरबाट पनि आउँदैनथ्यो, त्यस्तो वेलामा पनि हामी बालकहरू धैर्यपूर्वक पढाइमा ध्यान दिन्थ्यौँ । एसएलसीपछि म काठमाडौं आएँ र इन्जिनियरिङमा भर्ना पाएँ । दुराडाँडा आउन बुबालाई सजिलो थियो, काठमाडौं आउन गाह्रो । मलाई भेट्न आएका वेला उहाँ आफैं हराउनु पनि हुन्थ्यो । सहर देखेर उहाँ आफैँ पनि आत्तिनुहुन्थ्यो, तर मलाई मेरो सपना पूरा गर्न उत्साह दिइरहनुहुन्थ्यो । पछि छात्रवृत्ति पाएर म रसिया गएँ ।
नेपाल र रसियामा इन्जिनियरिङ पढेको मान्छे, जागिरको अवसर त पक्कै थियो होला, तर व्यवसायतिर किन लाग्नुभयो ?
रसियामा पढाइ सकेर म नेपाल फर्किएँ । बैतडी दार्चुला सडकमा इन्जिनियरका रूपमा काम पनि गरेको छु । एउटा इन्जिनियरका रूपमा मलाई सबै सुविधा थियो, माछा मार्ने, सिकार खेल्ने, पकाइदिने र पस्किएर टेबुलमा ल्याइदिने सहयोगी थिए । तर, एक दिन मैले आफैँलाई प्रश्न गरेँ, ‘के मेरो क्षमता यति मात्र हो ? के यतिमै सन्तुष्ट हुन मिल्छ ?’ मनले भन्यो, ‘मिल्दैन ।’ मैले बाटो परिवर्तन गरेँ, अस्ट्रेलिया गएर म्यानेजमेन्ट पढ्न थालेँ ।
इन्जिनियरका रूपमा सहयोगीसहित जागिर गरेको मान्छे, अस्ट्रेलिया गएर फेरि पढाइ सुरु गर्दा कठिनाइ भएन ?
असाधारण कठिनाइ भयो । म करिब ३५ वर्षको भइसकेको थिएँ, फेरि पढाइ सुरु गर्न मानसिक रूपले कठिनाइ थियो, त्योभन्दा ठूलो समस्या आर्थिक नै थियो । अस्ट्रेलियामा पढाइ गर्न मसँग पैसा थिएन, त्यसैले मैले एउटा इन्डियन रेस्टुरेन्टमा काम थालेँ । रेस्टुरेन्टमा सरसफाइका काम गर्न दु:ख हुन्थ्यो, तर मैले हार मानिनँ । पाँच दिन पढ्थेँ, सात दिन काम गर्थेँ । १८ महिनासम्म मैले विनाछुट्टी यसरी नै काम गरेँ । न कक्षा छाडेँ, न काम । त्यसैले मेरो ‘सोसल लाइफ’ शून्य थियो । कसैलाई भेट्ने, दु:ख–सुखको कुरा गर्ने अवसर नै थिएन । उता मेरी श्रीमती पनि होटेलमा सरसफाइको काम गरिरहेकी थिइन् । हामीलाई शारीरिक रूपमा धेरै दु:ख थियो, तर मानसिक रूपमा हामी सधैँ खुसी थियौँ, किनकि हामीले त्यो वेला पनि सुन्दर भविष्य देखिरहेका थियौँ । त्यसैले हामी दुब्लाएर लखतरान हुँदा पनि हामीले आफूहरूलाई कहिल्यै धिक्कारेनौँ । हामीले जहाँ काम गर्यौँ, हामीलाई काम दिने व्यवसायीलाई खुसी राख्यौँ । त्यही कारणले पुरस्कृत पनि भयौँ । अलिकति पैसा जोहो गरेपछि हामीले आफ्नै रेस्टुरेन्ट सुरु गर्यौँ । थप पैसा भएपछि एउटा क्याम्पस दर्ता गर्यौँ । हामीजस्तो आर्थिक हैसियत भएको विदेशी नागरिकले अस्ट्रेलियामा क्याम्पस दर्ता गर्नु भनेको अत्यन्तै जटिल प्रक्रिया थियो, तर पनि हामीले नथाकी प्रयास गर्यौँ । हामी सफल भएकाले शिक्षा क्षेत्रमा हामीले थप्दै गयौँ, त्यो कमाइले अन्य क्षेत्रमा लगानी गर्न स्रोत जुटाउँदै गयो । हामीले रेस्टुरेन्टमा काम गर्दा भएको दु:खबाट आत्तिएको हाम्रो उपलब्धि त्यतिमै सीमित हुन्थ्यो ।
बुबा जो तपाईंलाई भेट्न आउँदा काठमाडौंमा हराउनुहुन्थ्यो, उहाँले तपार्इंको समृद्धि कत्तिको देख्न पाउनुभयो ?
बुबा बितेको पाँच वर्ष भयो, उहाँले अन्तिममा पनि सन्तोषको सास फेर्न पाउनुभयो । आमा अहिले गाउँमै हुनुहुन्छ, ८५ वर्षको हुनुभयो, अझै पनि दृढ र स्वावलम्बी हुनुहुन्छ । मैले काठमाडौं अथवा अस्ट्रेलियामा बसौँ भन्दा मान्नुहुन्न । छोराको सफलतामा उहाँलाई सन्तोष छ, तर कमाइमा कत्ति पनि लोभ छैन । गाउँमा विद्यालय बनाउन हामीले ६० लाख रुपैयाँ योगदान गरेका थियौँ, अहिले विद्यालय निर्माणको काम धमाधम भइरहेको छ । त्यहाँ परिचालन भएको जनशक्तिलाई चिया पकाएर खुवाउनुहुन्छ । आमालाई यसैमा सन्तोष छ ।
तपाईंहरूले स्थापना गरेको कोषबाट शिक्षा मात्र होइन, स्वास्थ्यमा पनि लगानी गर्ने भन्नुभएको छ ? स्वास्थ्यमा पनि लगानी गर्ने विचार खास के कारणले आयो ?
स्वास्थ्य क्षेत्रको अवस्था तपार्इं–हामी सबैलाई थाहा छ । मेरी बहिनी सानी छँदै बिरामी भएकी थिई, उसलाई बचाउन सकिएन । गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भएको भए बाल्यकालमा उसले ज्यान गुमाउनुपर्ने थिएन । मेरी श्रीमती जमुनाको भाइको पनि निधन भयो । यो हाम्रो परिवारको मात्रै कथा होइन । लाखौँलाख नेपालीलाई उचित स्वास्थ्य सेवाको आवश्यकता छ । त्यसतर्फ पनि केही मात्रामा योगदान गरौँ भन्ने हाम्रो अभिप्राय हो ।
एउटा समाज सेवाको विशाल प्रस्ताव ल्याउनुभएको छ, नेपाली समाज र सरकारबाट के कस्तो अपेक्षा गर्नुभएको छ ?
सरकारबाट चाहेको सहयोग पाइएको छ । समाजले पनि हामीलाई उचित कदर गरेकै छ । हामीले केही वर्षयता केही करोड रुपैयाँ समाजका लागि योगदान गरिसकेका छौँ । अब अलिक ठूलो र व्यवस्थित मात्रामा गर्न खोजेका छौँ । मिडिया तथा समाजसँग हाम्रो अनुरोध के छ भने यो सिएसआर (कर्पोरेट सोसल रेन्पोन्सिबिलिटी) प्रोजेक्ट होइन । सिएसआर भनेको त व्यापारबाट कमाएपछि त्यो समाजलाई केही प्रतिफल दिने नैतिक बाध्यता हो । तर, हामीले त नेपालमा व्यवसाय त भर्खरै सुरु गर्दै छौँ, प्रतिफल पाउन त अझै समय लाग्ला । हामीले नैतिक बाध्यताले होइन, आत्माको चाहनाले यो घोषणा गरेका हौँ । हामीले अहिले एक अर्ब रुपैयाँको कोष घोषणा गरेका छौँ । तर, हाम्रो सिमाना यति मात्र होइन । अहिले सुरुवातमा एक अर्बको कोष खडा गर्न हामी धन र मनले ‘कम्फोर्टेबल’ छौँ । एक अर्ब रुपैयाँको ब्याजबाट बर्सेनि आउने आठ–नौ करोडबाट हामी अघि बढ्छौँ । सन्यन्त्र बनाएपछि थप पैसा खर्च गर्ने सक्ने अवस्था आउन सक्छ, त्यो वेला रकम थप्न पनि हामी तयार छौँ । (नयाँ पत्रिका दैनिकबाट साभार)
















प्रतिक्रिया