काठमाडौँ, २५ पुस । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्वाेपरि राखेर दृढ इच्छाशक्ति र इमान्दारीका साथ संविधान लेखनको वाँकी काममा केन्द्रित हुन राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ ।
नागरिक समूहले आयोजना गरेको ‘संविधान निर्माणका लागि नागरिक दबाब’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलले दिनरात काम गर्ने हो भने अझै पनि निर्धारित मितिमा संविधान जारी गर्न सकिने बताउनुभयो । “जिम्मेवारी लिनेले नै जिम्मेवारी पूरा गर्नुपर्ने र प्रतिवद्धताअनुरुप काम गर्नुपर्ने भएकाले जनअपेक्षा र जनविश्वासलाई खेलबाडमा ढुलमुल हुन कदापि दिन हुँदैन”–रेग्मीको भनाइ थियो ।
निर्धारित मितिमा संविधान जारी गर्ने सङ्कल्पसहित सक्रिय रहन राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउँदै उहाँले जनभावनाको उच्चसम्मान गर्दै उहाँले इतिहासले प्रदान गरेको संविधान लेखनको अभूतपूर्व अवसरलाई पूर्ण सदुपयोग गर्न विशेष संवेदनशीलताका साथ सक्रिय हुन सल्लाह दिनुभयो । रेग्मीले भन्नुभयो, “देशमा संविधान निर्माण भई सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको सुनिश्चिताका लागि तत्कालीन समयमा सङ्घर्ष गर्नुभएका धेरै नेपाली आज पनि शरीरमा गोली र चोटका दाग, अशक्त शारीरिक अवस्था र विक्षिप्त मानसिक र भावनात्मक संवेगका साथ त्यो दिन र प्रहरलाई पर्खिरहनुभएको छ तर संविधान लेखन अघि बढ्न नसकेको अवस्थालाई नियाल्दा संविधान लेखन राजनीतिक दलको दैनन्दिन राजनीति गर्ने राजनीतिक एजेण्डा मात्र बन्न गएको हो कि भन्ने जस्तो पो देखिएको छ ।”
संविधान निर्माण देश विकास र समृद्धिको प्रारम्भविन्दु मात्र हो भन्दै रेग्मीले संविधान लेखनका क्रममा अनेकौँ उतारचढाव देखिनाले संविधान निर्माण र जारी गर्नुलाई नै हामीले विशाल उपलब्धि मान्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
सो अवसरमा संविधानविद् मधुप्रसाद आचार्य, हास्य कलाकार महजोडी, नागरिक समूहका संयोजक निगम हुमागार्इँ, पत्रकार प्रेम बानियाँ, समाजसेवी गोरेबहादुर थगापालगायतले संविधानसभाको निर्वाचनमा प्रतिबद्धता गरेअनुरुप राजनीतिक दलले आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मुलुक राजनीतिक परिवर्तन र लोकतन्त्रका पक्षमा योगदान दिनेहरुलाई सम्मान गरिएको थियो । शान्ति र संविधान, स्थानीय निकायको निर्वाचन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सरकार तथा राजनीतिक दललाई सकारात्मक दबाब दिने उद्देश्यका साथ समूह गठन भएको थियो । रासस
















प्रतिक्रिया