काठमाडौँ, २४ पुस । नेपाली काँग्रेसका सभासद् अमरेशकमार सिंहले काँग्रेस र नेकपा एमालेका नेताको हालत लिबियाका तत्तकालिन शासक कर्णेल गद्दाफीको जस्तै बनाउने चेतावनी दिएका छन् ।
बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रस्तावमाथि छलफलमा भाग लिँदै संविधानसभामा उनले यस्तो चेतावनी दिएका हुन् ।
काँग्रेस र एमालेले मार्शल लगाएर वा आर्मी परिचालन गरेर संविधान जारी गर्ने प्रयास गरे भने संविधानसभा भित्रै हंगामा गर्नेसम्मको चेतावनी उनले दिए ।
भनाईको सम्पुर्ण समय काँग्रेस र एमालेलाई गाली गर्नमा खर्च गरेका सिंहले एमाओवादी र मधेश केन्द्रित दलको भने बचाउ गरेका थिए । उनले एमाओवादी नेताहरुलाई हेग लैजाने केही दलको अभिव्यत्तिको समेत कडा आलोचना गरे ।
काँग्रेस र एमालेको नेतृत्व जनतालाई अधिकार दिने पक्षमा नरहेको समेत उनको आरोप थियो । उनका त्यस्ता आक्रमक अभिव्यक्ति काँग्रेस र एमालेका नेताहरु भने टुलुटुलु हेरेर र सुनेर बसेका थिए । एमाओवादी र मधेशवादी दलका नेता भने खुशी देखिन्थे ।















प्रतिक्रिया