१ कार्तिक २०८३, आइतबार

अख्तियारमा छ महिनामै १९ हजार बढी उजुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirकिरण भट्टराई
काठमाडौँ, २४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  गत वर्षभन्दा यस वर्ष उजुरी दर्ता र आयोगले अदालतमा दर्ता गर्ने मुद्दा सङ्ख्याको दर्ता दोब्बर भएकोे छ ।

पछिल्लो समय आयोगको गतिविधि प्रभावकारी हुँदै गएपछि त्यसको प्रभाव स्वरुप आयोगमा उजुरीका घटना दर्ता वृद्धि भएको हो ।

गएको आर्थिक वर्षमा एक वर्षभरि दर्ता भएको उजुरी सङ्ख्या र मुद्दाबराबर यस आर्थिक वर्षको पहिलो छ महिनामै मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । यस आर्थिक वर्षको पहिलो छ महिना नपुग्दै १९ हजार १५० उजुरी परेको छ, जुन सरदर दैनिक १०४ हुन आउँछ ।

सोही अवधिमा आयोगले १९५ मुद्दा विशेष अदालतमा दायर गरेको जसमा ६०० भन्दा बढी व्यक्तिलाई विपक्षी बनाइएको छ ।

गत आर्थिक वर्षभरि २२ हजार ६०० उजुरीमात्रै दर्ता भएको थियो । आयोगले ती उजुरीमा छानबिन गरी १६८ मुद्दा दर्ता गरेको थियो । यो वर्ष पहिलो छ महिनामै गत वर्षभरि बराबरको उजुरी र मुद्दा दर्ता हुनुले यो वर्ष दोब्बर उजुरी र मुद्दा दर्ता हुने देखिन्छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाले आयोगमा जनविश्वास बढ्दै गएका कारण उजुरी सङ्ख्या बढेको बताउनुहुन्छ । जनविश्वास कायम राख्नु आयोगका लागि चुनौतीसमेत बनेको छ ।

आयोगले पाँचै विकास क्षेत्र र काठमाडौँ केन्द्रीय कार्यालयमार्फत उजुरी लिने र छानबिन गर्ने गरेको छ । आयोगमा हाल ७०० कर्मचारी रहेका छन् ।

मुद्दाको चाप बढ्दै जाँदा अनुसन्धानमा कर्मचारीहरु पनि बढी सक्रिय हुनुपरेको छ । आयोगका सहप्रवक्ता केशव घिमिरेले उजुरीको चाप बढ्दा आवश्यकताअनुसार कर्मचारीहरु बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म पनि कार्यालयमा बसेर काम गर्नुपरिरहेको बताउनुहुन्छ ।

धेरै कर्मचारी काजमा आयोगमा आउने हुँदा उनीहरु सरुवा हुने समयको टुङ्गो नहुँदासमेत अनुसन्धान प्रभावित भइरहेको छ । आयोगले अदालतमा दर्ता गरेका मुद्दामध्ये ८० प्रतिशतमा सफलता हात पार्ने गरेको घिमिरेले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष रु एक अर्ब ६६ करोड बिगो दाबी गर्दै आयोगले अदालतमा मुद्दा दर्ता गरेकामा यो आर्थिक वर्षको सुरुवाती छ महिनामा रु ४३ करोड बिगो माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
गत वर्ष आयोगले राजस्व अनुसन्धान विभागलगायत सरकारी निकायलाई दिएको निर्देशनका कारण छ अर्बभन्दा बढी रकम असुल भएको आयोगले जनाएको छ ।

लामो समयपछि डेढ वर्षअघि आयोगमा प्रमुख आयुक्त र एकजना आयुक्त नियुक्त भए पनि तीनजना आयुक्तको अझै नियुक्ति हुन सकेको छैन । उजुरी दर्ता र मुद्दा सङ्ख्या बढे पनि पदाधिकारीले पूर्णता नपाउँदा आयोगले अझै प्रभावकारी काम गर्न सकेको छैन ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचीमा १७५ देशमध्ये यो वर्ष नेपाल भ्रष्टाचार हुने मुलुकमा १२६ नम्बरमा परेको छ ।

सो सूचीमा डेनमार्क, फिनल्याण्ड, न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा रहेका छन् भने अफगानिस्तान, उत्तरकोरिया र सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा परेका छन् ।

समाज र देशको आर्थिक, सामाजिक उन्नति र प्रगतिको बाधकका रुपमा रहेको भ्रष्टाचारको निराकरणका लागि खोलिएको अख्तियारजस्ता निकायलाई थप प्रभावकारी र सक्रिय बनाउन सकेमात्रै मुलुक विकास पथमा अग्रसर हुनसक्छ । रासस