गोरखाबजार, २४ पुस । चिउरीको बिरुवासँग बिहे गर्न छाडेर चेपाङले सुन्तलाको बिरुवासँग बिहे गर्न थालेका छन् ।
चिउरीको बोटसँग बिहे गर्ने परम्परा तोडेर चेपाङले सुन्तलाको बोटसँग बिहे गर्ने चलन ल्याएका हुन् । जंगलमा चिउरीको बोट मासिँदै गएपछि सर्वसुलभ पाइने सुन्तलाको बोटसँग चेपाङले छोरीको बिहे गर्न थालेको नेपाल चेपाङ सङ्घका केन्द्रीय सदस्य तिलक चेपाङले जानकारी दिनुभयो ।
‘चिउरी छाडेर सुन्तलासँग बिहे गर्न थालेका छौँ’–चेपाङले भन्नुभयो–‘जहाँ चिउरी त्यहाँ चेपाङ भन्थे । अहिलेको जङ्गलमा चिउरीको बोट नै मासियो ।’ जङ्गलमा चिउरीको रूख मासिएपछि सुन्तलाको बोटसँग बिहे थाल्नुपरेको उहाँको भनाइ छ ।
छोरीलाई दाइजोका रुपमा चिउरीको बोट दिने परम्परा पुर्खाको पालादेखि चेपाङबीच चल्दै आएको थियो । बिहेपछि श्रीमान्को घरमा छोरीले दुःख खेप्नु नपरोस् भनेर माइती पक्षले चिउरीको बोट दाइजोका रुपमा छोरीलाई दिँदै आएका थिए ।
‘चिउरीको बियाँ माछा मार्न काम लाग्छ’–चेपाङले भन्नुभयो–‘बियाँ पेलेर घ्यू पनि निकालिन्छ ।’ बिहेपछि छोरीले चिउरीको घ्यू र माछामासु खान पाओस् भन्ने विश्वासका साथ चेपाङले चिउरीको बिरुवा बिहेसँगै दिने गरेको केन्द्रीय सदस्य चेपाङको भनाइ छ ।
श्रीमतीलाई बिहे गर्दा आफूले ठूलो चिउरीको बोट पाएको गोरखाको मकैसिङ गाविस–३ मधुवनका ७२ वर्षीय टीकाराम चेपाङले बताउनुभयो । रासस















प्रतिक्रिया