१ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारीमा गएका श्रीमानले मोबाइलबाटै तलाक दिएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mobile-finalगौशाला, २४ पुस । महोत्तरी जिल्लाको पर्सा देवाड गाविसका मुस्लिम महिलाका लागि मोबाइल फोन अभिशाप बन्दै गएको छ ।

प्रत्येक घरबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका मुस्लिम पुरुषले विगत केही दिनदेखि आफ्नी पत्नी (महिला)लाई फोनबाटै तलाक दिन थालेपछि उनीहरूका लागि मोबाइल फोन अभिशाप बन्दै गएको पूर्व गाविस अध्यक्ष अनवारुल हकले बताउनुभयो ।

पुरुष विदेश गएर पैसा कमाए पछि विदेशी महिलालाई देखेपछि आफ्नी पत्नीहरूलाई फोनबाटै तलाक दिन थालेकाले स्थानीय मुस्लिम महिला पीडित बन्दै गएको स्थानीय किशोरी चाँदनी खातुनले बताउनुभयो ।

विगत छ महिनामा स्थानीय तीनजना मुस्लिम महिलाले वैदेशिक रोजगारीमा रहेका आफ्ना पतिबाट मोबाइलमा तीनपटक तलाक, तलाक, तलाक शब्द सुनेपछि उनीहरू सदाका लागि पतिबाट अलग्गिन पुगेको स्थानीय जोहरा खातुनले सुनाइन् ।

पर्सादेवाड–७ की खुस्बुदा खातुन विगत पाँच महिना पहिले पति शेष मुख्तारबाट मोबाइल फोनमा तीनपटक तलाक तलाक तलाक शब्द सुनेर छुट्टिन पुगेकी छिन् भने उनी पतिले तलाक दिएपछि पाँचवटा स–साना नानीका साथ माइतमा बस्न बाध्य भएकी छिन् ।

त्यस्तै छ महिना पहिले साउदी अरबमा बस्दै गरेका शेष मुस्तकिमले आफ्ना दुई सन्तानका आमा रहेकी पत्नीलाई फोनबाटै तलाक दिएपछि उनी छोराछोरीसहित सासु र ससुराबाट घर निकाला गरी कष्टकर जीवन बाँच्न बाध्य भएकी छिन् ।
स्थानीय बयोवृद्ध तथा पुराना मानिस अहिलेका युवाले जीवन सङ्गीनीको  कुनै महत्व नदिएको र सानोतिनो झैझगडा वा भनाभनमा पनि मोबाइलबाट तलाक दिने गरेको सुनाउँदै स्थानीय चेलीबेटीका लागि मोबाइल फोन अभिशाप बनेको सुनाउँछन् । रासस