काठमाडौं, २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दलहरुको बालुवाटार वार्ता भाँडिनुमा आफ्नै कुनै दोष नरहेको प्रष्ट पार्नुभएको छ ।
आफूले कोही कसैलाई उत्तेजित पार्ने काम नगरेको तर सही कुरा गर्दा वार्ता भाँडेको आरोप लाग्ने गरेको तर्क गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘‘म गाँउको मान्छे, लप्पन छप्पन जान्दिन, सही कुरा गर्दा धेरैलाई पच्दो रहेनछ ।’’
संविधानसभा भवनमा संचारकर्मीहरुसँग कुरा गर्दै ओलीले भन्नुभयो, सम्मजति सबै हाम्रो भन्ने भ्रम पालेर बिहार र उत्तर प्रदेशमा पनि जानुहोला भनेको थिएँ । उहाँहरु रिसाउनुभयो । ठट्टा गरेको थिएँ, तर उहाँहरुले मलाई मधेस विरोधी भनेर गलत आरोप समेत लगाउनुभयो ।’
अध्यक्ष ओलीले आफूहरू आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्नका लागि के गर्नु पर्दछ त्यो गर्न तयार रहेको जानकारी दिँदै बिहीबार बिहान कसरी अगाडि बढ्ने भन्ने बारेमा पूर्णखाका सभाध्यक्ष नेम्वाङलाई दिने बताउनुभयो ।
समयमा संविधान जारी गर्नका लागि सबै प्रक्रिया अपनाउन आफू तयार रहेको उहाँको भनाइ छ ।
नेम्वाङसँग समय माग
बालुवाटारमा बुधबार बिहान भएको वार्ता भाँडिएपछि संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि प्रमुख राजनीतिक दलले केही दिन समय प्रदान गर्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आग्रह गरेका छन् ।
सहमतिकै आधारमा संविधान लेख्ने प्रयत्न जारी रहेको भन्दै प्रमुख दलले संविधानसभाको बैठकलाई थप केही दिन जारी राख्न अनुरोध गरेका हुन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा सभाध्यक्ष नेम्वाङकै पहलमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा शीर्ष नेताहरूले केही दिन समय थप गर्न औपचारिक रूपमा आग्रह गरेको बताइएको छ ।
तर यसबारेमा नेताहरूले भने आ–आफ्नै दलीय प्रतिक्रिया दिनुभएको छ । सत्तारुढ दलका नेताहरूले भने बिहीबार बिहानसम्म सहमतिका लागि प्रयत्न जारी रहेको र सोको बारेमा सभाध्यक्षलाई जानकारी गराएको बताउनुभएको हो ।
माघ ८ मा संविधान आउँछ : प्रधानमन्त्री कोइराला
सभाध्यक्ष नेम्वाङसँगको छलफलपछि प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गते संविधान आउनेमा आशङ्का नगर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
दलहरूबीच छलफल जारी रहेको र सहमतिमा नै संविधान जारी हुने संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो ‘‘छलफल जारी छ, सहमति हुन्छ, संविधान जारी हुँदैन भनेर आशङ्का गर्नुको कुनै औचित्य छैन ।’’
सहमतिका लागि संवाद जारी छ: गच्छदार
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष वियकुमार गच्छदारले भने सहमतिको प्रक्रिया जारी रहेका कारण त्यसलाई निष्कर्षमा पु¥याउन केही दिन थप समय मागेको जानकारी दिनुभयो ।
‘‘सहमतिको विकल्प छैन, प्रक्रियामा जान पनि सहमति नै आवश्यक छ, जबरजस्ती अगाडि बढ्छु भन्ने मानसिकताले काम गर्न सक्दैन, वार्ता संवाद जारी रहेको समयमा परिस्थितिलाई उत्तेजित पार्नेतर्फ कोही पनि लाग्नु हुँदैन ।’’ अध्यक्ष गच्छदारले भन्नुभयो ।
बैठकमा सभाध्यक्ष नेम्वाङले सहमति गर्ने भए तत्काल सहमति गर्न, सहमति नहुने भए पनि कसरी अगाडि बढ्ने हो सोको जानकारी आफूलाई दिन आग्रह गर्नुभएको थियो ।
सहमतिमा नै संविधान जारी हुनुपर्छ: डा भट्टराई
एकीकृत नेकपा(माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले भने समय थप गर्ने वा नगर्ने भन्ने विषयमा सभाध्यक्षसँग कुनै पनि छलफल नभएको तर सहमतिमा नै संविधान जारी गर्नु पर्दछ भनेर शीर्ष नेताहरूले आग्रह गर्नुभएको जानकारी दिनुभयो ।
संविधान लेखन प्रक्रिया भनेको शान्तिप्रक्रिया र विगतको सहमति तथा समझदारीसँग पनि जोडिएकाले बहुमतीय प्रक्रियाबाट अगाडि बढ्न नहुनेतर्फ सभाध्यक्षलाई जानकारी गराएको उहाँको भनाइ छ ।
















प्रतिक्रिया