पोखरा, २२ पुस । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीको सोमबार पोखरामा सम्पन्न तेस्रो अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि प्रेमनारायण न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा सन्देश श्रेष्ठ, सचिवमा दीननाथ बराल, सहसचिवमा अर्जुन गिरी, कोषाध्यक्षमा हिमाल लम्साल तथा सदस्यमा रञ्जन अधिकारी, रोहितराज पराजुली, विजय नेपाल, उमेश पुन र सुरेनकुमार सुशील रहनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष अजय फुयाँलले खेलकुद पत्रकार मञ्च विशुद्ध बिट पत्रकारिता गर्नेहरूको संस्था भएकाले यसलाई राजनीतिक रङ्ग दिन नहुने बताउनुभयो ।
खेलकुदको विकासमा सहयोग पु¥याएबापत फुुटबल सङ्घका उपमहासचिव एवम् बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेशबहादुर भट्टराई र उसुका अन्तर्राष्ट्रिय खेलाडी झरना गुरुङलाई सम्मान गरिएको थियो ।
मञ्चका अध्यक्ष विनोद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रुद्र भट्ट, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, पर्यटन परिषद्का अध्यक्ष सूर्य भुजेल, मञ्चका निवर्तमान अध्यक्ष निरञ्जन राजवंशी र पत्रकार एकराज गिरीले बोल्नुभएको थियो ।














प्रतिक्रिया