वीरगन्ज (पर्सा), २२ पुस । पर्साको ठोरी गाविसमा गएराति जङ्गली हात्तीले फेरि उपद्रो मच्चाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट राति मानवबस्तीमा छिरेको जङ्गली हात्तीले ठोरी–८ गौतमनगरमा एउटा पोल्ट्रीफार्मसहित तीनवटा घर भत्काएको स्थानीयवासीले बताएका छन् ।
जङ्गली हात्तीले गौतमनगरका भुबहादुर दर्लामी मगरको घर र घर नजिकै रहेको पोल्ट्री फार्म तथा त्यही ठाउँका नारायण सिलवालको घरको पर्खाल पनि भत्काइदिएको सञ्चारकर्मी प्रेम लामाले जानकारी दिनुभयो ।
जङ्गली हात्तीले गौतमनगरकै हरिशरण बुढाथोकीको घरमा भण्डारण गरी राखिएको जौ पनि नष्ट पारेको छ । बेलुकी ७ बजे ठोरी–१ रोजीनगरमा पसेको जङ्गली हात्तीलाई स्थानीयवासी र प्रहरीले जङ्गलतर्फ धपाए पनि राति १ बजे फेरि त्यही हात्ती ठोरी– ५ हनुमाननगर हुँदै गौतमनगरमा पसेर वितण्डा मच्चाएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
पर्साको ठोरीमा यसपालि जङ्गली हात्तीले अहिलेसम्म एक दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।















प्रतिक्रिया