जाजरकोट, २० पुस । शुक्रबारदेखि सुरु भएको हिमपात नरोकिएपछि जाजरकोट, डोल्पा र रुकुमको जनजीवन प्र्रभावित भएको छ । लगातार पानीसहित हिमपात हुँदा जनजीवन प्रभावित भएको हो ।
जाजरकोटको वारेकोट क्षेत्रमा रहेको नायकवाडा, सक्ला, रामीडाडा, रोकायगाउँ, पूर्वको खगेनकोट, रग्दा, पश्चिमको टालेगाउ, दह लगायतका दर्जनभन्दा बढी ठाउँमा हिमपात भएको हो । शुक्रबार बेलुकादेखि पानी र हिमपात सुरु भएको थियो ।
त्यस्तै डोल्पामा शुक्रबार रातिदेखि लगातार पानी र हिमपात सुरु भएको छ । सदरमुकाम दुनै, त्रिपुराकोट, लिकु, पहाडा, काइगाउँ, छार्का, तिन्जे, फोक्सुन्धो, धोललगायत सबैजसो गाविसमा भारी हिमपात भएको छ ।
हिमपातले गर्दा डोल्पाको एक मात्र विमानस्थल जुफाल विमानस्थल अवरुद्ध भएको छ भने नमस्ते, स्काइ, हेलोलगायत सञ्चार सेवा पनि ठप्प भएको छ । भारी हिमपातले गर्दा हिउँ जमेपछि प्रभावित क्षेत्रको जनजीवन एकदमै कष्टकर बनेको छ भने गाईवस्तु गोठमै रहेको सर्वसाधारणले बताएका छन ।
त्यस्तै रुकुमको हुकाम, मैकोट, तकसेरा, आठविसकोट, खद्धी, गोतामलगायत आधा दर्जन गाविसमा भारी हिमपात भएको छ । हिमपातले गर्दा यहाँका सर्वसाधारण हैरान भएको आठविसकोटका तिलक बटालाले जानकारी दिनुभयो ।















प्रतिक्रिया